किमाथाङ्का नाका नखुल्दा भोटखोलामा खाद्यन्न संकट



खाँदबारी । सङ्खुवासभा र चिन विचको किमाथाङ्का नाका नखुल्दा भोटखोला गाउँपालिकामा खाद्यन्न संकट सुरु भएको छ । छिमेकी राष्ट्र चिनको तिब्बतबाट खाद्यन्न ल्याएर उपभोग गर्ने भोटखोला गाउँपालिकाको माथिल्लो क्षेत्रमा नाका बन्द भएपछि संकट सुरु भएको हो ।

मुख्य गरि गाउँपालिकाको वडा नम्बर २ को किमाथाङ्का, थुदाम, रिदाक र छुम्सुर गाउँमा खाद्यन्न संकट सुरु भएको हो । यी गाउँहरुमा संकट सुरु भएपछि गाउँपालिकाको माग बमोजिम कोशी प्रदेश सरकारले ९० क्वीन्टल चामल पठाएको छ । उक्त चामल संकट क्षेत्रका नागरिकहरुलाई वितरण गरिसकिएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिनुभयो । यसरी पठाएको चामलले करिव २ महिना पुग्ने अध्यक्ष भोटेले जानकारी दिनुभयो ।

यसपछि पनि लगत्तै खाद्यन्न आवश्यक पर्ने भएकोले जिल्ला विपद ब्यवस्थापन समिति मार्फत खाद्यन्न माग गरिएको अध्यक्ष भोटेले जानकारी दिनुभयो । भोटखोला गाउँपालिकाको माग बमोजिम प्रदेश सरकारसँग ढुवानी अनुदानमा २ हजार ८ सय क्वीन्टल चामल माग गरिएको जिल्ला विपद ब्यवस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो । उक्त परिमाणमा गाउँपालिकासम्म खाद्यन्न पुर्याउन लाग्ने खर्च प्रदेश सरकारले ब्यहोरेर खाद्यन्नको मुल्य भने उपभोक्ताहरुले तिर्ने गरि माग गरिएको कार्कीले जानकारी दिनुभयो । त्यस्तै, नेपाल खाद्यन्न संस्थान मार्फत पनि ३ सय ५० क्वीन्टल चामल भोटखोला पुर्याउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी कार्कीले जानकारी दिनुभयो ।

कोरोना संक्रमण बढेसँगै बन्द गरिएको नेपाल चिन विचको नाका हालसम्म नखुल्दा भोटखोलाका नागरिकहरुले विभिन्न समस्याहरु भोग्नु परेको छ । त्यस क्षेत्रका अधिकांश युवाहरु रोजगारीको लागि तिब्बत जाने गरेकोमा नाका नखुलेपछि रोजगारी गुमाएका हुन् । तिब्बती बजारमा आश्रित हुदै आएको भोटखोलावासीले बर्षेनी खाद्यन्न लगायतका विभिन्न संकटहरु ब्यहोर्नु परेको हो ।

नाका खोल्न त्यस क्षेत्रका नागरिक र स्थानीय सरकारले पटक पटक अनुरोध गरेपनि हालसम्म नाका खुल्न सकेको छैन । गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्ने र प्रसासन कार्यालयले गृह लगायतका माथिल्लो मन्त्रालयले परिपत्र गरेपनि हालसम्म कुनै प्रगति नभएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको भनाई छ ।

भोटखोला गाउँपालिका सङ्खुवासभाकै सवैभन्दा दुर्गम स्थानीय तह हो । गाउँपालिकाको किमाथाङ्का, थुदाम, रिदाक र छुम्सुर सवैभन्दा विकट रहेकोले यस गाउँहरुमा बर्सेनी संकट ब्यहोर्नु परेको छ । यहाँको उत्पादनले करिव ३ महिना मात्र पुग्ने स्थानीय बताउँछन् । यस क्षेत्रहरुमा मुख्य गरि कोदो र आलु उत्पादन हुने गरेको छ ।

भौगोलिक विकटताको कारण हालसम्म पनि जिल्ला सदरमुकामसँग सडक सञ्जाल जोडिएको छैन । तीन देश जोड्ने मुलुककै सवैभन्दा छोटो नाका भएपनि उत्तर दक्षिण कोशी राजमार्गको ट्रयाक हालसम्म खोल्न सकिएको छैन । अहिले नेपाली सेनाले उक्त सडक अन्तर्गतको च्याम्ताङको भिर फुटाएर बाटो खोल्ने काम गरिरहेको छ ।

सम्बन्धित समाचार