मिङ्मा शेर्पा: जस्ले चट्याङबाट गाेरु गुमाएका किसानलाई किनिदिए हल गाेरु



खाँदबारी । तीन दिन अघि परेकाे चट्याङले सिलिचाेङ गाउँपालिका ५ याफुका स्थानीय लिलाबहादुर राईकाे एक बाछी सहित हल गाेरु नै मारिदिए । राई गाेरु जाेत्नकाे लागि विहान सवेरै गाेठ पुग्दा एक गाई र दुई गाेरु मरिरहेकाे अवस्थामा देखेपछि बिरक्तिए ।

मध्ये असारमा हल गाेरु नै चट्याङले मारिदिएपछि एउटा किसानलाई कुन हदसम्मकाे क्षति पुग्छ, सहजै कल्पना गर्न सकिन्छ । चट्याङले पुर्याएकाे क्षतिकाे बारेमा वडा अध्यक्ष ईश्वर कुलुङले सहयाेगकाे अपिल सहित सामाजिक सञ्जालमा जानकारी गराए ।

उक्त घटनापछि आङमाईला समेत भनेर चिनिने विश्व प्रख्यात आराेहि तथा पर्यटन ब्यवसायी मिङ्मा शेर्पाले हल गाेरु नै किनिदिएका छन् । शेर्पाले कृषक राईलाई ४५ हजार रुपैयाँ बराबरकाे हल गाेरु किनिदिएका हुन् । शेर्पाले गाेरु किन्ने रकम उपलब्ध गराए लगत्तै वडा अध्यक्ष ईश्वर कुलुङ, स्थानीय युवा अगुवाहरु बागबीर कुलुङ, सुरेन्द्र कुलुङ लगायतले हल गाेरु समेत हस्तान्तरण गरिसकेका छन् ।

मानाे खाएर मुरी उब्जाउने बेलामा हल गाेरु नै गुमाएका राईले जाेत्दै गरेकाे हल गाेरु पाएपछि यत्ति बेला उनकाे खुसीकाे सिमा छैन । दाताबाट प्राप्त गाेरु कृषक राईले जाेत्न थालेका छन् ।

सम्बन्धित समाचार