लिस्वन । विदेशमा बस्ने नेपालीहरुका लागि सरकारी कुटनीतिक नियोगपछिको अर्को मुख्य अविभावक संस्था गैरआवासीय नेपाली संघ हो । कतिपयले नेतृत्वको कार्यशैलीलाई लिएर संघमाथि नै आलोचना पनि गर्ने गरेका छन्, तर विश्वभर सञ्जाल बनाएको यो संस्थाको गरिमा अझै पनि घटेको छैन ।
गैरआवासीय नेपाली संघ यतिखेर ११ औं महाधिवेशनको रन्कोमा डुबेको छ । कस्तो नीति र नेतृत्व बनाउने भन्ने कुरा केही महिनाभित्र टुंगो लाग्ने नै छ । युरोपमा बेलायतपछि धेरै नेपालीहरु बसोबास गर्ने पोर्चुगलको राष्ट्रिय समन्वय परिषद पनि यो रन्कोबाट अछुतो रहन सकेको छैन । संघले जुन ३० सम्म सदस्यता वितरण तथा नवीकरण गर्ने, जुलाई १५ सम्म क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने र जुलाई ३० मा एनसिसिको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
हुन त अहिले पोर्चुगलमा दुई वटा समितिहरु विद्यमान रहेका छन् । तर गत अधिवेशनको निर्वाचनबाट छनौट भएको समिति रबीन अधिकारी अध्यक्ष रहेको समिति हो । अन्तराष्ट्रिय समन्वय परिषदले पनि यसैलाई आधिकारिक समिति मानेको छ ।
अधिकारीको समितिबाट असन्तुष्ट बनेको समूहले सोमफूरी शेर्पाको अध्यक्षतामा अर्को समानान्तर समिति बनाएको छ । संघको उद्देश्य प्राप्तिका लागि एकता र सहकार्य अनिवार्य रहेको संघका महासचिव राजकुमार थापाको भनाइ छ । त्यसैले असन्तुष्ट समूहलाई समेट्न अधिकतम् प्रयास भइरहेको समेत थापाले जानकारी दिए ।
विदेशमा बस्ने नेपालीहरुका देश र परिवेश अनुसार आ–आफ्नै समस्याहरु हुन्छन् । साधारणतः त्यहाँ बस्ने सामान्य नेपालीहरुको सोचाइ आफूलाई समस्या पर्दा अविभावक संस्थाले सहयोग गरिदियोस् भन्ने नै हुन्छ । तर नेतृत्व विचलित हुँदा संस्थाप्रति नै आकर्षण घट्ने गर्दछ । यसको ज्वलन्त उदाहरण पोर्चुगलको सदस्य सङ्ख्या पनि हो । करिब ४० हजार नेपालीहरु रहेको मुलुकमा १० प्रतिशत पनि सदस्य नहुनु भनेको संस्थाप्रति वितृष्णा हो । यो पङ्क्तिकारले सामाजिक सञ्जालमा गरेको सर्वेक्षणमा पनि संस्थाप्रति त्यति रुची नरहेको देखाएको थियो ।
को को बन्दैछन् अध्यक्षका आकांक्षीहरु
सदस्यता वितरणकै अवस्थामा भएकोले धेरै आकांक्षीहरु खुलिसकेका त छैनन् । तर केहीले भने नजिकका साथीहरुलाई आफ्नो राय प्रकट गर्न थालिसकेका छन् । समूहका भेलाहरु धमाधम आयोजना हुन थालेका छन् । यसमा सबैभन्दा अगाडि राजनीतिक दलका समिति र ती समितिहरुभित्रका पनि गुटका भेलाहरु बाक्लो हुन थालेका छन् ।
आगामी अध्यक्षका लागि हालका अध्यक्ष रबीन अधिकारीले दोहोरिन चाहे भने सबैले सहमति गर्न सक्छन् तर उनको रुची युरोप वा आइसिसि रहेको बुझिन्छ ।
यसैगरी वर्तमान महासचिव राजकुमार थापा अध्यक्षका स्वभाविक र अधिकारीपछि सबैभन्दा बलिया उम्मेद्वार हुन् । थापालाई संगठन कसरी चलाउनु पर्दछ भन्ने राम्रो ज्ञान भएका दिग्गज मानिन्छन् । लेखनमा पनि अब्बल रहेका उनी नेपाल पत्रकार महासंघ, युरोप शाखाका उपाध्यक्ष समेत हुन् ।
गत आइतबार मात्रै बसेको नेपाली जनसम्पर्क समितिको बैठकमा केहीले हालका संघकी उपाध्यक्ष दीपा काफ्लेलाई अध्यक्ष पदको उम्मेद्वारका लागि छलफलमा प्रस्ताव गरेका थिए । समितिका केही व्याक्तिहरुले काफ्लेले नेतृत्व गर्न सक्ने क्षमातामा शंका गरेका छन् । त्यसैले जनसम्पर्क समितिभित्र उनको विकल्प तयार हुँदै गरेको पनि जानकारी प्राप्त भएको छ । विगतमा संघको निर्वाचनमा सधैं हावी हुँदै आएको जनसम्पर्क समितिले गर्ने निर्णयले निकै ठूलो प्रभाव पार्ने निश्चित छ ।
स्रोतका अनुसार प्रवासी नेपाली मञ्चभित्र पनि कसलाई अगाडि बढाउने भन्ने विषयमा आन्तरिक छलफल तिब्र चलेको बताएका छन् ।
अर्कातिर सबै जातजाति र भाषाभाषीको समावेशिताको मुद्दा बोक्दै आइरहेको नेपाल आदिवासी जनजाति महासंघ, पोर्चुगलका अध्यक्ष हेम गुरुङ पनि अध्यक्षका आकांक्षी हुन् । गुरुङका अनुसार व्यक्तिको उम्मेद्वारीभन्दा उम्मेद्वारले उठाउँने मुद्दा महत्वपूर्ण रहेको बताउनुहुन्छ ।
लिस्बनमा रहेर समाजसेवा तथा व्यवसाय गरिरहेका मिजासिलो स्वभावका नवीन आचार्यलाई पनि एउटा समूहले अध्यक्षको उम्मेद्वार बन्न प्रेरित गरिहेको छ । यता अघिल्लो अधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी दिएर फिर्ता गरेका अशोक गुरुङलाई पनि यूवा समूहले उम्मेद्वार बनाउन लागेका छन् ।
अहिले सदस्यता वितरणकै अवस्थामा भएकाले यो चर्चा प्रारम्भिक मात्रै हो । उम्मेद्वारी दिने बेलासम्म आकांक्षीहरु घटबढ र हेरफेर भइरहने निश्चित छ ।
युरोपियन मुलुकमध्ये आवासीय अनुमति प्राप्त गर्न सहज भएकाले पोर्चुगल अहिलेको यूवाहरुको रोजाइमा पर्ने गरेको छ । जो कोहीले पोर्चुगल प्रवेश गरेपछि प्रारम्भमा फिनान्स, सोसियल, जुन्ता, सेफ इन्ट्रीलगायतको कागजपत्र बनाउनु पर्ने हुन्छ । त्यसपछि मात्र काम र कोठा खोज्ने प्रक्रिया हुन्छ । सुन्दा सामान्य लाग्ने तर सूचना र जानकारीको अभावमा त्यस्ता कागजपत्र बनाउँन धेरैले दुःख पाइरहेका छन् । कम्तिमा यस्ता समस्याहरुमा सहजीकरण गरिदिने नेतृत्व आजको आवश्यकता रहेको दमौली फुटबल क्लबका संयोजक खिम दरै बताउनुहुन्छ ।
संघको अधिवेशनलाई नजिकबाट नियालिरहेका पत्रकार बासु सत्याल होटल र रेस्टुरेण्टमा भाषण गर्नेभन्दा यहाँ बसोबास गर्ने नेपालीहरुका समस्यामा हातेमालो गर्ने नेतृत्व आउनु पर्ने धारणा राख्नुहुन्छ ।
आगामी अधिवेशनबाट गैरआवासीय नेपाली संघ पोर्चुगलले नयाँ नेतृत्व त पाउँने नै छ, तर को र कस्तो नीति लिएका नयाँ नेतृत्व आउँने छ, त्यसका लागि करिब एक महिना पर्खनै पर्नेछ ।
प्रतिक्रिया