खाँदबारी । संखुवासभा सदरमुकाम समेत रहेकाे खाँदबारी बजार स्थित पाेखरी पार्कमा संरचना निर्माण गर्न थालिएपछि त्यसकाे सर्वत्र विराेध हुन थालेकाे छ । पार्कमा रहेकाे पाेखरी वरिपरि ४ वटा पिलर उठाउन थालिएसँगै ब्यापक विराेध सुरु भएकाे हाे ।
मध्ये बजार क्षेत्रमा रहेकाे खाली ठाउँमा अस्तब्यस्त संरचना बनाउन थालिएपछि सामाजिक सञ्जालहरु तथा चिया चाेकहरुमा ब्यापक विराेध हुन थालेकाे हाे । पाेखरी वरिपरिका केहि ब्यक्तिहरुकाे ईच्छामा मात्र सार्वजनिक स्थलमा आफुखुसी संरचना बनाउन नहुने संखुवासभाका पुर्व जिल्ला विकास अधिकारी शेरबहादुर ढुङ्गानाकाे प्रतिकृया छ । सार्वजनिक स्थलमा संरचना निर्माण गर्दा स्थानीय सरकार लगायतसँग स्वीकृति लिएर मात्र निर्माण गर्नु पर्ने उहाँकाे भनाई छ ।
पार्ककाे संखुवासभा उद्याेग बाणिज्य संघले संरक्षण गर्दै आएकाे छ । पाेखरी पार्कमा कुनै पनि मुर्ति राख्नकाे लागि उद्याेग बाणिज्य संघले निर्णय नगरेकाे संघका अध्यक्ष कृष्ण भगत प्रधानले बताउनुभयाे । पार्कमा खाँदबारी नगरपालिकाले पाेखरी टाेल विकास संस्थाकाे सहमतिमा ४ वटा मुर्ति राख्न लागेकाे प्रधानले बताउनुभयाे । यस पार्कमा मुर्ती राख्नका लागि टाेल विकास संस्थाकाे सहमति नगरपालिकाले मागेकाे र टाेल विकासले सहमति प्रदान गरेकाे उहाँले बताउनुभयाे । यहाँ महादेव, गाैतम बुद्ध, किरातेश्वर लगायतकाे मुर्ती राख्ने तयारी रहेकाे समेत अध्यक्ष प्रधानले जानकारी दिनुभयाे ।
पाेखरी पार्कमा मुर्ती राख्ने बारे आफु सन्तुष्ट नरहेकाे स्थानीय बासिन्दा समेत रहनुभएका जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यकाे भनाई छ । आफु अनुपस्थित भएकाे बेला मुर्ती राख्ने विषयमा टाेल विकासले निर्णय गरेकाे शाक्यले बताउनुभयाे । आफु अनुपस्थित बैठककाे निर्णयमा हस्ताक्षर नगर्ने भनेर फर्काए पनि पटक पटक हस्ताक्षर गर्न ल्याएपछि हस्ताक्षर भने गरेकाे उहाँले बताउनुभयाे ।
पाेखरी पार्कमा रहेकाे समीकाे रुख पनि यस अघि काटिएकाे थियाे । उक्त रुख काटेर बाँकी ठुटामा पछिल्लाे समय साँझपख कृतिम बत्ति बालिदै आएकाे छ ।
प्रतिक्रिया