इलाम । इलामको माइजोगमाई–२ का पिताम्बर खतिवडाले श्रीमतीको हत्या गरी आफूले घर नजिकै आत्महत्या गरेका छन् । टारसिंहका ५६ वर्षीय खतिवडाले गएराती ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरेका हुन् । श्रीमतीको हत्यापछि पिताम्बरले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
राती करिब १०ः३० बजे राधिकाचिच्याएको आवाज आएपछि छिमेकीहरू खतिवडाको घर पुगेका थिए । घरभित्र राधिका लडिरहेको देखेपछि छिमेकीले प्रहरीलाई खबर गरे । घटनाको जानकारी पाएपछि गोर्खे र जौबारी प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
बायाँ गालामा गम्भीर चोट देखिएकी राधिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूकी १४ वर्षीया छोरी रचनाले बुबाले आमाको हत्या गरेको प्रहरीलाई बताएकी छन् ।
यता, पिताम्बर पनि घर नजिकैको निबारोको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । श्रीमतीको हत्यापछि उनले आत्महत्या गरेको प्रहरीको अनुमान छ ।
प्रतिक्रिया