इटहरी उपमहानगरको बोल्ड निर्णयः छात्रवृत्ति विवरण नबुझाउने विद्यालयलाई एक लाखसम्म जरिवाना



इटहरी । इटहरी उपमहानगर पालिका भित्रका निजी विद्यालयहरुले उपलब्ध गराउने छात्रबृत्तिको बिवरण बुझाउन यसअघि ३ पटकसम्म सुचना जारी गरेको थियो ।

तर विद्यार्थीलाई दिएको छात्रवृत्ति विवरण नबुझाएपछि आधारभुत र माध्यमिक विद्यालयलाई उपमहानगरपालिकाले एक लाखसम्म जरिवाना तिराउने निर्णय गरेको हो ।

शुक्रबार बसेको शिक्षा शाखाको बैठकले १५ वटा निजी विद्यालयलाई जरिवाना तिराउने निर्णय गरेको हो । जसमा दसवटा आधारभूत र पाँचवटा माध्यमिक विद्यालय छन् ।

शिक्षा शाखाको बैठकले आधारभूत तहका विद्यालयलाई ५० हजार र माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय भएको नगरप्रमुख हेमकर्ण पौडेलले बताए ।

छात्रवृत्ति विवरण नबुझाउने आधारभूत तहका विद्यालय जेलिन मन्टेश्वरी स्कुल, किड्स ग्लो मन्टेश्वरी, पिस एण्ड हर्ट इङ्लिस बोडिङ् स्कुल, पोल्सान मन्टेश्वरी स्कुल, सृजना किण्डर गार्टेन मन्टेश्वरी र हेप्पील्याण्ड चाईल्ड डे केयर, इन्द्रेणी स्कुल, इटहरी नमुना स्कुल, शुनाखरी विद्या मन्दिर र जानकी मन्टेश्वरी स्कुललाई प्रति विद्यालय ५० हजारका दरले जरिवाना तिराउने निर्णय भएको हो ।

माध्यमिक विद्यालयतर्फ गोल्डेन फ्यूचर इङ्लिस बोडिङ् स्कुल, इटहरी चिल्ड्रेन स्कुल, इटहरी मोडल सेकेण्डरी स्कुल, ह्वाइट सोल एकेडेमी र लिटल केयर बोडिङ स्कुललाई एक लाख रुपैयाँका दरले जरिवाना तिराउने निर्णय भएको हो ।

नगरप्रमुख हेमकर्ण पौडेलले छात्रवृत्ति विवरण नबुझाउने विद्यालयलाई सात दिनभित्रमा जरिवाना तिर्न पत्राचार गर्ने निर्णय भएको बताए ।

सम्बन्धित समाचार