खाँदबारी । संखुवासभामा बाढीमा बेपत्ता भएको २९ दिनपछि सुपर हेवा हाइड्रोपावरका एक मजदुरको शव फेला परेको छ । बाढीमा परेर बेपत्ता भएको एक महिनापछि एउटा शव फेला परेको हो । शवको पहिचान भने भएको छैन ।
आइतबार चैनपुर नगरपालिका–४ मा सुपर हेवा हाइड्रोपावरको कम्पाउन्डमा पुरुषको शव फेला परेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए । उनका अनुसार शवको पहिचान भने खुलेको छैन ।
गएको असार २ गते राति वर्षासँगै आएको बाढीले बगाउँदा संखुवासभाका विभिन्न स्थानका २२ जना बेपत्ता भएका थिए । बेपत्ता भएका २२ मध्ये चैनपुर नगरपालिका ४ मा निर्माणाधीन सुपर हेवा हाइड्रोपावरका १७ जना मजदुर थिए । तीमध्ये २ जनाको शव हालसम्म फेला परिसकेको छ ।
बाढीपहिरोमा परेका अन्य १८ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ताको खोजीका लागि प्रहरीले विभिन्न संयन्त्र अपनाएको थियो । पहिरोमा पुरिएका वा बगाएको स्थानमा मेसिन तथा औजारको सहयोगमा खन्ने, खोज्ने र तालिम प्राप्त कुकुर लगाएर खोजी गर्दा समेत शव फेला पर्न सकेको छैन ।
बाढीपहिरोका कारण २० घरपरिवार विस्थापित भएका थिए । बाढीले तीनवटा पक्की पुलमा क्षति पुर्याएको थियो ।
प्रतिक्रिया