अलैँचीको मूल्यमा बृद्धि



फिदिम । किसानले फलाएको अलैँची शुक्रवार पाँचथरको सदरमुकाम फिदिममा प्रतिमन (चालिस किलो) ६० हजार रुपियाँमा किनबेच भएको छ । त्यही अलैँची झापाको बिर्तामोडमा प्रतिमन ६२ हजार रुपियाँमा किनबेच भएको फिदिमका अलैँची व्यवसायी खेमनाथ अधिकारीले जानकारी दिनुभयो ।

फिदिममा अलैँचीको मूल्य प्रतिमन ६० हजार (प्रतिकिलो १ हजार पाँच सय रुपियाँ ) पुगेको यो वर्ष पहिलो पटक हो । यद्वपी किसान स्वयम भने यो मूल्य पाउन वञ्चित भएका छन् । सिजन सकिएसँगै किसानको अलैँची भण्डार पनि रित्तिएकाले बढेको मूल्यबाट व्यवसायीलाई राहत भएको छ ।

असार महिनासम्म बजारमा अलैँची प्रतिमन ४० हजार रुपियाँमा किनबेच भएको थियो । साउन लागेपछि मूल्य क्रमशः सुधार हुन थालेको व्यवसायीहरू बताउँछन ।

पाँचथरको मिक्लाजुङका किसान रामकुमार राईका अनुसार अलैँचीको सिजन सामान्यतया भदौ देखि सुरु भएर मङ्सिर पहिलो सातासम्म हो । किसानले प्रशोधन गरेका अलैँची भदौ देखि माघ महिना भित्रै बिक्री गरिसक्ने भएकाले बढेको मूल्य सङ्कलक र व्यापारीले मात्रै भेट्ने उहाँ बताउनुहुन्छ । ‘यो वर्ष पनि बेसिजनमा मूल्य बढेकाले किसानलाई भन्दा धेरै फाइदा व्यवसायी र सङ्कलकलाई नै भयो ।’ राईले भन्नुभयो ।

व्यवसायीहरूका अनुसार अलैँचीलाई गुणस्तरका आधारमा क,ख र ग गरी तीन तहमा विभाजन गरिएको हुन्छ । व्यवसायी अधिकारीका अनुसार अलैँचीलाई गुणस्तरका आधारमा क,ख र ग श्रेणीमा विभाजन गरिएको छ । शुक्रवार फिदिममा उत्कृष्ट (क) श्रेणीको ६१ ,मध्यम (ख) श्रेणीको ६० र सामान्य (ग) श्रेणीको अलैँची प्रतिमन ५९ हजारमा किनबेच भएको हो ।

यस्तै बिर्तामोडमा क श्रेणीको ६४,ख श्रेणीको ६३ र ग श्रेणीको ६२ हजार रुपियाँ प्रतिमनका दरले किनबेच भएको छ । नेपालमा उत्पादन भएको अलैंंचीको बजार भारत हो । पूर्वी नेपालमा उत्पादन भएको अलैँची झापाको बिर्तामोड हुँदै भारत छिर्छ । त्यसपछि भारतले तेस्रो मुलुक निर्यात गर्दै आएको छ ।

अलैँची पूर्वी पहाडी जिल्लाका नागरिकको आम्दानीको भरपर्दो स्रोत हो । विशेष गरी पूर्वी पहाडका ताप्लेजुङ,पाँचथर,इलाम र संखुवासभाका कृषकको प्रमुख आय स्रोत नै अलैँची हो ।

सम्बन्धित समाचार