मादी नगर प्रमुखकाे चेतावनी: प्रहरी र प्रशासन कार्यालय घेर्न नपराेस्



खाँदबारी । गत बुधबार विहान जिल्ला कारागार संखुवासभामा दुई कैदीबन्दीकाे मृत्यूकाे छानविन निश्पक्ष र सत्यतथ्य हुनु पर्ने मादी नगरपालिकाका नगर प्रमुख जीवन लिङ्थेपले सजग गराउनुभएकाे छ । घटनालाई ताेडमाेड गर्न खाेजिए सुरक्षा निकायका कार्यालयहरु घेराउ गरिने लिङ्थेपले चेतावनी दिनुभएकाे छ ।

शुक्रबार जिल्ला प्रसासन कार्यालय सङ्खुवासभामा आयाेजना गरिएकाे छलफल बैठकमा लिङ्थेपले यस्ताे चेतावनी दिनुभएकाे हाे । घटनामा कारागारमा रहेका प्रहरीहरु नै संलग्न रहेकाे आम बुझाई रहेकाे बताउँदै दाेशीले उन्मुक्ति पाउने र  निर्दाेशलाई फसाउने कार्य भए त्यसकाे प्रतिकारकाे नेतृत्व आफुले लिने बताउनुभएकाे छ ।

घटना भएकाे लामाे समय वित्दा पनि दाेषी सार्वजनिक नहुनेले आम मानिसमा शंका पैदा हुन थालेकाे बैठकमा सहभागीहरुले बताएका थिए ।

छलफलमा गृहमन्त्रालयबाट गठित अध्ययन समितिका संयाेजक कारागार विभागका निर्देशक कमल पाण्डेले निश्पक्ष छानविन हुनेमा विश्वस्त रहन अनुराेध गर्नुभयाे । स्थानीय अनुसन्धान समिति र प्रहरीले गर्ने अनुसन्धान माथी नागरिकहरुकाे प्रश्न रहन सक्ने भएकाेले नै गृह मन्त्रालयले स्वतन्त्र समिति बनाएकाेले आफुहरुलाई विश्वास गर्न पाण्डेले अनुराेध गर्नुभयाे । घटनाकाे अध्ययन गर्न करिव ३ दिन लाग्ने भएकाेले साे दिनसम्म अनुसन्धान कार्यमा सहयाेग गर्न समेत पाण्डेले अनुराेध गर्नुभयाे ।

घटनामा संलग्नहरु पत्ता लाग्ने क्रममा रहेकाेले केहि दिन भित्र नै सार्वजनिक गरिने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयाे ।

यसै विच छलफलले भाेली (सनिबार) शवकाे पाेष्ट मार्टम गर्ने निर्णय गरिएकाे छ । जिल्ला अस्पतालमा राखिएकाे शवकाे पाेष्ट मार्टम गर्नका लागि विशेषज्ञकाे टाेली बाेलाएर पाेष्ट मार्टम गर्ने निर्णय गरिएकाे हाे ।

सम्बन्धित समाचार