खाँदबारी । गत बुधबार विहान जिल्ला कारागार सङ्खुवासभामा दुई जना कैदीको मृत्य घटनाको अनुसन्धान नतिजा उन्मुख रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । १० प्रहरी र ५ कैदी बन्दीहरु पक्राउ गरिएसँगै घटनाको अनुसन्धान नतिजा उन्मुख रहेको बताईएको हो ।
दुई कैदीहरुको कुटपिटबाट मृत्यू भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक विरेन्द्र गोदारले जानकारी दिनुभयो । उनीहरुको कुटपिटमा संलग्न कारागारमा खटिएका प्रहरी सहायक निरिक्षक लक्ष्मी चौधरी सहित १० जनालाई प्रहरीले पक्राउ गरि अनुसन्धान सुरु गरिएको हो ।
कुटपिटमा संलग्न कारागारका नाईके लगायत ५ जना कैदिहरुलाई नियन्त्रण गरि अनुसन्धान सुरु गरिएको प्रनाउ गोदारले जानकारी दिनुभयो । अनुसन्धानका लागि ९ जना कैदीहरुलाई नियन्त्रणमा लिईएपनि ५ जना दोषी देखिएको उहाँले जानकारी दिनुभयो ।
कुटपिटमा संलग्नहरुको जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धानको तयारी गरिएको बताईएको छ । मृत्तकको परिवारले यस अघि जिल्ला कारागार प्रशासन बृत्त विरुद्ध किटानी जाहेरी दिएको थिए । उनीहरुको परिवारले पुन पुरक जाहेरी दिने वित्तिकै म्याद थपको लागि प्रकृया अघि बढाएर थप अनुसन्धान गरिने प्रनाउ गोदारले जानकारी दिनुभयो ।
सुरुमा उक्त घटनामा कैदीबन्दी विच झडप भएर मृत्यू भएको भनिए पनि मृत्तकका आफन्तहरुले असन्तुष्टि जनाएका थिए । मृत्तकको परिवार, आफन्त लगायत सरोकारवालाहरुको चर्को विरोध पछि हाल तीन छुट्टाछुट्टै समितिले घटनाको अध्ययन तथा अनुसन्धान गरिरहेका छन् ।
जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेको संयोजकत्वमा रहेको समितिले अध्ययन गरिरहेको छ । त्यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक ऋषिराम कँडेल नेतृत्वको टोली र गृह मन्त्रालयको तर्फबाट कारागार विभागको निर्देशक कमल पाण्डे नेतृत्वको समितिले अनुसन्धान गरिरहेका छन् ।
मृत्यू हुनेहरुमा सङ्खुवासभा जिल्ला मादी नगरपालिका ५ का १९ बर्षीय विनोद तोलाङ्गी र मकवानपुर जिल्ला ककनी गाउँपालिकाका ७ का २८ आकाश बलामी रहेका छन् । उनीहरुको शव जिल्ला अस्पताल खाँदबारीको शव गृहमा राखिएको छ । घटनाको सत्यतथ्य अनुसन्धान नभएसम्म शव नलिने परिवारले बताउदै आएका छन् ।
प्रतिक्रिया