पहाडी जिल्लामा भारी वर्षाको कारण पानीको बहाव उच्च भएपछि सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभु ढकालका अनुसार ब्यारेजका ५६ वटै ढोका खोलिएको हो । ‘५६ वटै ढोका खोलिएको लामो समयपछिको इतिहास हो ,’ उनले भने,‘रातिको तुलनामा पानीको बहाव अहिले अलिक कम भएको छ ।’
पानीको बहाव ४ लाख ५२ हजार क्यूसेक प्रतिसेकेण्ड मापन भएको छ । यो रेकर्ड २५ वर्षदेखि यताकै उच्च रहेको उनको भनाई छ ।
सप्तकोशी ब्यारेजमा ५६ वटा ढोका रहेका छन् । पानीको बहाव उच्च हुँदा मात्रै सबै ढोका खोलिने गरेको छ । एसपी ढकालले स्थिति खतरामुक्त रहेको भएपनि ठूला सवारी साधनलाई ओहोरदोहोर गर्न आलोपालो गराइरहेको छ । कोशीमा सन् १९८९ सालमा ४ लाख ७२ हजार क्यूसेक प्रतिसेकेण्ड पानीको बहाव मापन गरिएको थियो ।
कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार क्यूसेक प्रतिसेकेण्ड कट्यो भने सचेत गराउन रातोबत्ती बाल्ने गरिएको छ । दुईलाख कट्यो भने अर्को बत्ती बालिन्छ भने तीन लाख कटेपछि नदीको बीच भागमा अर्को बत्ती बाल्ने गरिएको छ । ब्यारेजको क्षमता ९ लाख क्यूसेक प्रतिसेकेण्ड पानीको बहाव धान्न सक्ने छ । तर ब्यारेज पुरानो भएका कारण क्षमता घटेको छ ।
प्रतिक्रिया