खाँदबारी । जिल्ला कारागार खाँदबारीमा २ जना कैदीबन्दीकाे मृत्यू प्रकरणमा कारागार प्रमुख राजेन्द्र घिमिरे विरुद्ध किटानी जाहेरी दिईएपछि सङ्खुवासभाका ४ कर्मचारी संगठनले विज्ञप्ति निकालेका छन् । घटनाकाे समयमा कार्यालयमा नरहेका घिमिरे विरुद्ध किटानी जाहेरी दिईएकाे प्रति गम्भिर ध्यानाकर्षण भएकाे विज्ञप्तिमा बताईएकाे छ ।
घिमिरेकाे किटानी जाहेरी विरुद्ध नेपाल निजामति कर्मचारी संगठन, नेपाल निजामति कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) र अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले संयुक्त विज्ञप्ति जारी गरेकाे हाे ।
घटनामा प्रत्यक्ष संलग्न नरहेकाे कर्मचारी विरुद्ध किटानी जाहेरी दिँदा वास्तविक दाेषी उम्कन सक्ने र निर्दाेश ब्यक्ति फसिने सम्भावना रहने विज्ञप्तिमा भनिएकाे छ । यस्ताे कार्यले पिडितहरुले समेत वास्तविक कानुनी उपचार नपाउने विज्ञप्ति मार्फत भनिएकाे छ ।
पिडित परिवारले कारागार प्रमुख राजेन्द्र घिमिरे र कारागार सुरक्षा ईञ्चार्ज लक्ष्मी चाैधरी लगायत विरुद्ध किटानी जाहेरी दिएका थिए । कारागारका कार्यालय प्रमुख र सुरक्षा प्रमुख ‘लगायत’ विरुद्ध किटानी जाहेर दिएपछि उनीहरु मार्फत अन्य दाेषी पत्ता लाग्ने विश्वासले दुई जना लगायत विरुद्ध किटानी जाहेरी दिईएकाे परिवार श्राेतले बताएका छन् । प्रहरीले भने १० प्रहरी र ५ कैदी दाेषी पाईएकाे दावी गरेकाे थियाे ।
किटानी जाहेरी परेका दुई मध्ये कारागार सुरक्षा ईञ्चार्ज चाैधरी पक्राउ परिसकेका छन् भने घिमिरे विरुद्ध पक्राउ पुर्जी जारी भईसकेकाे छ ।
प्रतिक्रिया