धरान । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज राति १२ बजेदेखि निषेधादेश जारी गरेको छ । सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामुहिकरुपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, र्याली भेलाजम्मा प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरु नगर्न-नगराउन धरान उपमहानगरपालिका क्षेत्र भित्र निषेधादेश जारी गरेको छ ।
धरान उपमहानगरपालिका क्षेत्र धार्मिक, साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी संक्रामक रोग ऐन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम भदौ ८ गते राति १२ बजेदेखि मिति ९ गते राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सबै आयोजनाका लागि निषेधादेश जारी गरेको हो ।
सुनसरी जिल्लाका १२ स्थानीय तहहहरूमा डेंगी रोगको संक्रमण व्यापकरुपमा फैलिई १६ हजार जना भन्दा बढि व्यक्ति सङ्क्रमित भएका र १२ जनाको मृत्युसमेत भइसकेको एवम् धरान उपमहानगरपालिकाका २० वटा वडामा मात्रै १५ हजार व्यक्तिमा संक्रमण फैलिएको आदेशमा उल्लेख गरिएको छ ।
आदेश विपरीत भए गरेको पाइएमा वा अटेर गरेको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारवाही गरिने जिल्ला प्रशासन सुनसरीले जनाएको छ ।
निषेधादेश धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र न.पा. १ मा पर्ने झण्डा चौक देखि धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी न.पा. ६ नं. बाट बराहक्षेत्र न.पा. वडा नं. ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्र, इटहरी उपमहानगरपालिका वडा नं. २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका वडा नं ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र, धनकुटा जिल्ला साँगुरीगढी गा.पा. वडा नं. ६ भेडेटारबाट धरानतर्फकोक्षेत्र तोकिएको छ ।
प्रतिक्रिया