खाँदबारी । संखुवासभाको पाँचखपन नगरपालिका–६ मा रहेको वाना माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष बालयौन दुराचारको आरोपमा पक्राउ परेका छन्।
८ वर्षीया बालिकामाथि बालयौन दुराचार गरेको आरोपमा वाना माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष गोविन्द श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक जगेबुले बताए।
अध्यक्ष श्रेष्ठलाई आइतबार पक्राउ गरिएको प्रहरी निरीक्षक जगेबुले बताए। घटना गत असारको भए तापनि अहिले आएर सार्वजनिक भएको हो। स्थानीय स्तरमै आर्थिक लेनलेनसहित मिलापत्र गरी घटना ढाकाछोप गरिएको सार्वजनिक भएपछि प्रहरीले पीडित पक्षमाथि अनुसन्धान सुरु गरेको थियो।
बालिकालाई श्रेष्ठले अश्लील भिडियो देखाएर यौन दुराचार गरेको आरोप छ। पीडित पक्षको उजुरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
पक्राउ परेका अध्यक्ष श्रेष्ठलाई सोमबार जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाइने प्रहरी निरीक्षक जगेबुले बताए। कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौनसम्बन्धी निजको अङ्ग छोएमा वा समातेमा, यौनसम्बन्धी आफ्नो अङ्ग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरुपयोग गरेको मानिन्छ।
मुलुकी अपराध संहिता २०७४ ले बालयौन दुरुपयोगमा कसुरदार ठहर गरेको व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुने उल्लेख छ।
प्रतिक्रिया