परराष्ट्र मन्त्री साउद लगायतले गरे हिमालय किरण पब्लिक क्याम्पसकाे भवन उद्घाटन



खाँदबारी । पुर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन प्राप्त हिमालय किरण पब्लिक क्याम्पसकाे भवन उद्घाटन गरिएकाे छ । परराष्ट्र मन्त्री एनपी साउदकाे प्रमुख आतिथ्यतामा भारत सरकारकाे सहयाेगमा निर्मित भवनकाे उद्घाटन गरिएकाे हाे ।

उद्घाटन कार्यक्रममा नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तव, पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति यादवराज कोईराला, अमेरिकाका लागि पुर्व नेपाली राजदुत डा. अर्जुन कार्की, संघीय सांसद दीपक खड्का लगायतको उपस्थिती रहेको थियो । क्याम्पस ब्यवस्थापन समिति अध्यक्ष सुमन श्रेष्ठकाे अध्यक्षतामा आयाेजना गरिएकाे हाे । कार्यक्रमका प्रमुख अतिथि र विशिष्ट अतिथिहरुले पानसमा बत्ति बालेर तथा पर्दाले छाेपिएकाे शिलापत्र खाेलेर उद्घाटन गरिएकाे हाे ।

उद्घाटन लगत्तै क्याम्पस निर्माणका लागि मुख्य दाता स्व. किरण शाक्यकाे शालिकमा माल्यर्पण तथा बृक्षराेपण गरिएकाे थियाे । कार्यक्रममा राष्ट्रिय सेवा दलका युवाहरु नृत्य समेत प्रदर्शन गरेका थिए ।

हिमालय किरण पब्लिक क्याम्पसलाई आङ्गिक बनाउनु पर्ने आयाेजक तथा सराेकारवालाहरुकाे मुख्य माग थियाे । सभाध्यक्ष सुमन श्रेष्ठले आसन ग्रहण गर्ने क्रममा नै विश्वविद्यालयका उपकुलपति समक्ष आङ्गिक बनाईदिन माग राख्नुभयाे । कार्यक्रमकाे औचित्य माथि प्रष्ट पार्दै क्याम्पस प्रमुख डा. मात्रिका प्रसाद तिम्सिनाले पनि आङ्गिक क्याम्पस बनाउनु पर्ने जाेडबलका साथ माग राख्नुभयाे ।

हिमालय किरण पब्लिक क्याम्पसलाई आंगिक बनाउने माग प्रति आफुहरु सकरात्मक रहेकाे विश्वविद्यालयका उपकुलपति यादवराज काेईरालाले बताउनुभयाे । तर जस्काे लागि प्रस्ताव पेश गर्नु पर्ने र साेपछि मात्र आंगिक हुने वा नहुने बारे प्रकृया सुरु हुने बताउनुभयाे । क्याम्पसलाई आंगिक बनाउन माग राख्दै गर्दा हालसम्म प्रस्ताव पेश हुन नआएकाे काेईरालाले बताउनुभयाे । लगत्तै क्याम्पस प्रमुख डा. तिम्सिनाले खामबन्दि गरिएकाे प्रस्तावना उपकुलपती काेईरालालाई थमाउनुभएकाे थियाे ।

कार्यक्रममा मन्त्री साउद सहित जिल्ला समन्वय समित प्रमुख सुमन शाक्य अमेरिकाका लागि पुर्व नेपाली राजदुत डा. अर्जुन कार्की, खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया, पुर्व राज्यमन्त्री गाेविन्द बहादुर शाह, पुर्व सांसद डेडराज खड्का, संघीय सांसद दीपक खड्का, थलकुमार लिङ्खा लगायतले बाेलेका थिए । कार्यक्रम शैक्षिक अभियान्ता अभियान्ता तथा खाँदबारी नगरपालिकाका अधिकृत दिनेश कट्टेलले सञ्चालन गरेका थिए ।

क्याम्पसकाे भवन भारत सरकारकाे सहयाेगमा ३ कराेड ७१ लाख रुपैयाँमा निर्माण गरिएकाे हाे ।

सम्बन्धित समाचार