विराटनगर । इलामको रोङ गाउँपालिकाकाे किटानी भन्ने स्थानमा आइतबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । धनुषाधाम–९ धारापानी बस्ने वर्ष १२ का बालक अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य ३६ जना घाइते भएका थिए ।
घाइतेमध्ये धनुषाधाम–९ धारापानी कै की मनवती लामा र शान्तमाया तामाङको मृत्यु भएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।
मनवतीको उपचारको क्रममा हिंजो राती मृत्यु भएको हो भने तामाङको आज बिहान मृत्यु भएको हो । अन्य घाइते सबैको झापा विर्तामोडको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
मृत्यु भएकाहरुको शव अस्पतालमै रहेको छ । प्रहरीले बसका चालकलाई आइतबार राती नै पक्राउ गरेको प्रहरीले जनाएको छ ।
धनुषाको धनुषाधामस्थित धारापानीबाट उक्त टोली इलाम घुम्न आएको थियो ।
प्रतिक्रिया