अपर अरुणमा विश्व बैंक र एडिबीले संयुक्त लगानी गर्ने



खाँदबारी । विश्व बैंक र एसियाली विकास बैंकले १०६२ मेगावाटको माथिल्लो अरुण जलाशययुक्त जलविद्युत् आयोजनामा संयुक्त लगानी गर्ने भएका छन् । कोप– २८ सम्मेलनको अवसरमा बुधबार युएईमा विश्व बैंक र एडिबीले यस सम्बन्धी समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेका छन् ।

दुवै बै‌कले ६३५ मेगावाटको दूधकोसीमा पनि साझेदारीमा लगानी गर्ने भएकाे हाे । यसअघि विश्व बैंकले अपर अरुण र एडिबीले दूधकोसीमा एकल लगानी गर्ने तयारी गरेका थिए । तर, अहिले दुवै दातृ निकायले दुवै आयोजनामा संयुक्त रूपमा लगानी गर्ने घोषणा गरेका हुन् ।

साथै, उनीहरूले साझा रूपमा नेपालको जलविद्युत् क्षेत्रको विकासमा सहयोग गर्ने घोषणा पनि गरेका छन् । नेपालको ऊजा विकासमा वित्तीय सहयोग तथा नीतिगत सुझावमा सहकार्य गर्ने गरी गरिएको उक्त समझदारीको अवधि पाँच वर्षको रहेको छ । विश्व बैंकका दक्षिण एसियाका उपाध्यक्ष मार्टिन रेजर र एडिबीकी उपाध्यक्ष फातिमा यस्मिनले एमओयूमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा विश्व बैंकका उपाध्यक्ष रेजरले सरकार, विकास साझेदार र निजी क्षेत्रबीच साझेदारीविना प्रचुर सम्भावना बोकेको जलविद्युत् स्रोतको पूर्ण उपयोग गर्न नसकिने बताए । यो सम्झौताले एडिबी र विश्व बैंकले नेपालको ऊर्जा क्षेत्रमा वित्तीय सहयोग र नीतिगत सुझावमा सहकार्य गर्ने आधार तयार गरेको उनले बताए । यसको उद्देश्य नेपालको स्वच्छ, दिगो र समावेशी विकासलाई दशकौँसम्म सहयोग गर्ने भएको उनको भनाइ छ ।

अपर अरुणमा यसअघि विश्व बैंकले ५० करोड डलर आफैँ र ५० करोड डलर साझेदारबाट गरेर एक अर्ब डलर लगानी गर्ने बताएको थियो, त्यसमा अब एडिबी र विश्व बैंकले लगानी गर्नेछन् ।

संखुवासभामा बन्ने उक्त आयोजनामा एक अर्ब ८० करोड डलर (दुई खर्ब ३६ अर्ब रुपैयाँ) लगानी अनुमान गरिएको छ, जुन मिश्रित लगानी (स्वदेशी र विदेशी) मा बनाइँदै छ । त्यसमा यसअघि नै स्वदेशी वित्तीय संस्थाहरूले ५३ अर्ब ३४ करोड ऋण लगानी गर्ने समझदारी गरिसकेका छन् । गत भदौ ०७९ मा जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड (एचआइडिसिएल)को नेतृत्वमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषले उक्त आयोजनामा ऋण लगानी गर्न प्रवद्र्धक कम्पनी अपर अरुण हाइड्रोपावर लिमिटेड र नेपाल विद्युत् प्राधिकरणसँग समझदारी गरिसकेका छन् ।

सन् २०३० भित्रै यो परियोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । परियोजना निर्माणका लागि गर्नुपर्ने पूर्वतयारीका जग्गा अधिग्रहण, रूख कटानलगायतका धेरैजसो काम सम्पन्न भइसकेका छन् ।

सम्बन्धित समाचार