तल्लो अरुणका लागि ६५ हेक्टर जग्गा अधिग्रहण गरिने



सङ्खुवासभा । जिल्लामा निर्माण हुने ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनालाई चाहिने जग्गा अधिग्रहण प्रकृया सुरु गरिएको छ । अधिग्रहण गरिने जग्गाको बिवरण हालै गोरखापत्र दैनिकमा प्रकाशन गरिएसँगै अधिग्रहणको प्रकृया सुरु गरिएको हो ।

अरुण तेश्रो जलविद्युत परियोजना निर्माण गरिरहेको सतलज जलविद्युत निगमले नै उत्पादन गर्न लागेको यस परियोजनालाई ६५ हेक्टर जग्गा आवश्यक पर्छ । परियोजनाको लागि आवश्यक जग्गाहरु यकिन गरि सार्वजनिक सुचना प्रकाशित गरिएको मुआब्जा निर्धारण समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो । परियोजना सञ्चालक तथा मुआब्जा निर्धारण समितिको अध्ययनपछि दुई पालिका भित्र रहेको ५६५ कित्ता जग्गा अधिग्रहणको लागि सुचना प्रकाशित गरिएको उहाँले जानकारी दिनुभयो ।

सुचनामा प्रकाशित बिवरण अनुसार सम्बन्धित जग्गाधनीहरुले एक हप्ता भित्र समितिमा दावी विरोध पेश गर्नु पर्नेछ । जग्गाधनीहरुले मुआब्जा निर्धारण समितिमा कुनै विरोध वा उजरी दर्ता नगराए तत्कालै अधिग्रहणको प्रकृया सुरु गरिने प्रजिअ कार्कीले जानकारी दिनुभयो । अधिग्रहणको लागि यकिन गरिएको जग्गा मालपोत कार्यालय मार्फत रोक्का गरिने भएको हुँदा कुनै पनि संरचना निर्माण नर्गन तथा रुख बिरुवा नरोप्न सुचना जारी गरिएको छ ।

यसपछि मुआब्जा निर्धारण समितिले जग्गाको मुल्य निर्धारण गर्नेछ । अधिग्रहण गरिने जग्गाको मुआब्जा दर निर्धारण गर्न केहि आधारहरु रहेको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले जानकारी दिनुभयो । जग्गाको पछिल्लो मुल्य श्रृङ्खला, जग्गाको उपभोग, उत्पादन, उत्पादकत्व, अवस्थिती, सडकको पहुँच र जग्गाको प्रकृतिलाई हेरेर मुल्य निर्धारण हुने सहायक प्रजिअ घिमिरेले जानकारी दिनुभयो ।

सडक छेवैको (घरेडी जग्गा) को मुल्य सवैभन्दा बढि मुल्य हुने अलैँची, रुद्राक्ष उत्पादन हुने जग्गाको मध्ययम र पाखा बारीको मुल्य सवैभन्दा न्यून हुने उहाँले बताउनुभयो । हाल निर्माणाधिन ९ सय मेगावाट क्षमताको अरुण तेश्रो जलविद्युत परियोजनाले प्रतिरोपनी न्युनतम् ८ लाख २५ हजारदेखि ११ लाख ७५ हजार रुपैयाँसम्म मुआब्जा दिएको छ ।

यस परियोजनाको लागि आवश्यक जग्गा अधिग्रहण २ देखि ३ महिना भित्रमा सम्पन्न हुने गरि काम गरिने आयोजना प्रवर्धक सतलज जलविद्युत निगमका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिनुभयो । जग्गा अधिग्रहण लगत्तै निर्माण कार्यको लागि ठेक्का लगाईने र ठेक्का लागेको ७ बर्ष भित्र परियोजना सम्पन्न गर्ने तयारी रहेको धिमानले बताउनुभयो ।

परियोजनाको बाँध चिचिला गाउँपालिकाको वडा नम्बर २ मा रहनेछ भने विद्युत गृह खाँदबारी नगरपालिका २ को चेवा बेँशीमा निर्माण गरिनेछ । आयोजनाको लागत ९२ अर्ब ६८ करोड अनुमान गरिएको छ ।

गाेरखापत्र दैनिकबाट साभार गरिएकाे ।

सम्बन्धित समाचार