अरुण तेश्रोको ‘ब्रेकथ्रु’ गर्दैै प्रधानमन्त्री दाहालले के भने ?



सङ्खुवासभा । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले जलविद्युतबाट समृद्धि सम्भव रहेको बताउनुभएको छ । सङ्खुवासभामा निर्माणाधिन ९ सय मेगावाट क्षमताको अरुण तेश्रो जलविद्युत आयोजनाको मुख्य सुरुङको ‘ब्रेकथ्रु’ गर्न मंगलबार सङ्खुवासभा आउनुभएका प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।

पछिल्लो समय विद्युत उत्पादन र बजारीकरणलाई सरकारले प्राथमिकतामा राखेर अगाडी बढेको प्रधानमन्त्री दाहालले बताउनुभयो । ऊर्जा क्षेत्रको प्रवद्र्धनका लागि निजी क्षेत्रको लगानीको भुमिका महत्वपूर्ण रहेकोले उनीहरुलाई आकर्षित गर्ने खालका कार्यक्रमहरु सरकारले ल्याएको उहाँले बताउनुभयो । प्रसारण लाइन निर्माण तथा विद्युत वितरण लगायतका कार्यहरुमा निजी क्षेत्रलाई लगानी गर्न आकर्षित गर्ने ब्यवस्था आर्थिक बर्ष २०८१।८२ को निति तथा कार्यक्रममा राखिएको प्रधानमन्त्री दाहालले बताउनुभयो । त्यस्तै वैदेशिक रोजगारीमा रहेकाहरुको लगानीमा घुन्सा र सिम्बुवा जलविद्युत आयोजना आगामी आर्थिक बर्षमा निर्माण कार्य सुरु गरिने प्रधानमन्त्री दाहालले बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री दाहालले बुढिगण्डकी, दुधकोशी, नलसिङ्गाड लगायतका जलाशययुक्त जलविद्युत आयोजना निर्माण कार्य आगामी आर्थिक बर्षबाट नै सुरु गरिने बताउनुभयो । यी आयोजनाहरु निर्माण कार्य सम्पन्न भएसँगै सुख्खायामको माग पूर्ती गर्न सहज हुने उहाँले बताउनुभयो । नेपालमा उत्पादित जलविद्युतको निकट भविश्यमा नै तेश्रो मुलुक बङ्गलादेशमा समेत निर्यात गरिने उहाँले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अरुण तेश्रो परियोजनाले विद्युतीय माग पूर्ती गर्न ठुलो योगदान पुग्ने बताउनुभयो । यो परियोजनाबाट निशुल्क विद्युत, रोयल्टी, करहरुबापत अर्बौ रुपैयाँ प्राप्त हुने भएकोले समयमा नै निर्माण सम्पन्न गराउने सवै पक्ष लाग्नु पर्ने बताउनुभयो । परियोजनाको पहुँचमार्ग र प्रसारण लाईन निर्माण गर्न जग्गा प्राप्तिका विषयमा उत्पन्न समस्याहरुलाई आफुले गम्भिरतापूर्वक लिएको बताउनुहुँदै आवश्यक सहजीकरणका निम्ति स्थानीय तहमा क्रियाशील राजनीतिक दलहरू, नागरिक समाज र स्थानीय जनसमुदायमा विशेष आग्रह गर्नुभयो । ठुला परियोजनाहरू समयमै सम्पन्न हुँदा त्यसले राष्ट्रिय अर्थतन्त्रमा ठुलो योगदान पुग्ने र स्थानीय साधनस्रोतको उपयोग, रोजगारी सिर्जना, स्थानीय विकासका क्षेत्रमा नयाँ–नयाँ अवसरहरूको सिर्जना हुने उहाँले बताउनुभयो । अरुण तेश्रो पहुँच मार्गमा रहेको मुआब्जा रकम वितरण कार्य समयमै सम्पन्न गर्न सम्बन्धित सबैलाई निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री दाहाल सहित जलश्रोत तथा उर्जामन्त्री शक्ति बस्नेत, कोशी प्रदेशका स्वास्थ्यमन्त्री राजेन्द्र कार्की, नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तव लगायतका सरकारी टोलीको उपस्थिति रहेको थियो ।

अरुण तेश्रो जलविद्युत परियोजनाको ७४.०९ प्रतिशत भन्दा बढि भौतिक प्रगति भईसकेको आयोजनाले जनाएको छ । यस परियोजनाको मकालु गाउँपालिका ५ स्थीत फ्याक्सिन्दा दोभानमा बाँध निर्माण भईरहेको छ । उक्त बाँधबाट ११.८३ किलोमिटर लामो सुरुङ मार्गबाट पानी ल्याई चिचिला गाउँपालिका ३ स्थीत पुखुवाको विद्युत गृहबाट विद्युत उत्पादन गरिनेछ । यस सुरुङको आम्राङ स्थीत अडिट २ मा ‘ब्रेकथ्रु’ कार्यक्रमको आयोजना गरिएको थियो ।

१ खर्व ४ अर्व लागत अनुमान गरिएको यस परियोजनाबाट नेपाललाई २१ दशमलब ९ प्रतिशत निशुल्क विद्युत प्राप्त हुनेछ भने विभिन्न शिर्षकमा ३ खर्ब ४८ रुपैयाँ आर्थिक लाभ मिल्नेछ । आयोजनाबाट स्थानीय प्रभावितहरुले १ अर्ब ६० करोड रुपैयाँको सेयर पाउनुका साथै प्रति महिना ३० युनिटसम्म विद्युत निशुल्क प्राप्त गर्नेछन् । निर्माण सम्पन्न भएको २५ बर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने विद्युत विकास सम्झौतामा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार