चिचिलामा ८०६ रोपनी जग्गामा बहुबर्षे नगदे बिरुवा लगाईदै



बिरुवा रोप्न खाल्डो खन्दै प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत बेरोजगारहरु ।

खाँदबारी । जिल्लाको चिचिला गाउँपालिकाले गत बर्षसम्म नै कृषकको माग बमोजिम कागति, सुन्तला, एभोकाड लगायतका बिरुवाहरु बाँडे । रोजगार सेवा केन्द्र मार्फत बेरोजगार सुचीमा रहेकाहरुलाई बर्षेनी न्युनतम् सय दिनसम्म रोजगारी समेत दिए ।

तर यत्तिका बर्ष यसरी गरेको लाखौँ रुपैयाँ लगानीबाट न कृषकहरुको आयस्तर बृद्धि भयो न त दिर्घकालिन रोजगारी नै प्राप्त गरे । यसरी गरिएको लगानी उपलब्धिमुलक नदेखिएपछि गाउँपालिकाले यस बर्ष बृहद् कृषी कार्यक्रम सुरु गरेको छ । स्थानीय सरकार, प्रधानमन्त्री रोगजार कार्यक्रम र कृषकहरुको त्रिपक्षीय लागत साझेदारीमा कार्यक्रम सञ्चालन गर्न लागेको हो । यस कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले एक कार्यविधि निर्माण गरि कार्यक्रम सुरु गरेको हो ।

यस कार्यक्रम मार्फत गाउँपालिकाको ५ मध्ये ४ वटा वडामा ८०६ रोपनी क्षेत्रफल जग्गामा ४८ हजार ६ बोट बहुबर्षे नगदे बिरुवाहरु लगाउन लागेको हो । यस कार्यक्रममा कृषी समुह, कृषी फर्म, कृषी सहकारी र टोल विकास संस्थाहरुको सहभागिता रहेको छ । यस कार्यक्रमका लागि न्युनतम् एक सय रोपनी जग्गाबाट खेती सुरु गर्नु पर्नेछ । कृषकहरुले सिमाना मिल्ने जग्गालाई गाभेर (चक्लाबन्दि) एउटा बगान बनाई खेती लगाउनु पर्ने हुन्छ । सो अनुसार वडा नम्बर १ मा १३० रोपनी क्षेत्रफलमा बिरुवा लगाउन लागिएको हो । त्यस्तै वडा नम्बर २ मा दुई समुहले २३९ रोपनी क्षेत्रफलमा बिरुवा लगाउन लागेका छन् । वडा नम्बर ४ मा पनि दुई समुहले २७३ रोपनी क्षेत्रफलमा बिरुवा लगाउन लागेका छन् । वडा नम्बर ५ मा पनि २ समुहले २ सय ७ रोपनी क्षेत्रफलमा बिरुवा लगाउन लागेका छन् ।

उक्त जग्गामा कृषकहरुले सुन्तला, कागती, कफि र एभोकार्डको अनुमानित ४८ हजार बढि बिरुवाल लगाउन लागेको हो । यो संख्या जग्गाको क्षेत्रफल र बिरुवा रोप्ने दुरीको आधारमा अनुमान गरिएको भए पनि भिरालो जमिन भएकोले यो संख्या केहि घट्न सक्ने चिचिला गाउँपालिकाका कृषी प्रसार अधिकृत सन्तोष खड्काले जानकारी दिनुभयो । अहिले बिरुवा रोप्नका लागि खाल्डो खन्ने काम भईरहेको र खनिसकेपश्चात मात्र बिरुवाको यकिन संख्या आउने उहाँले स्पष्ट पार्नुभयो ।

यस कार्यक्रमका लागि प्रत्येक बगानमा एक कृषी प्राविधिक खटाईएको गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाले जानकारी दिनुभयो । प्राविधिकहरुको परामर्श अनुसार हावापानी, उचाई र माटो परिक्षण गरि बिरुवा लगाईनेछ । कृषकहरुले चाहेको बिरुवा रोप्न चाहेको जग्गामा उचित हुने वा नहुने, कृषी प्राविधिकहरुको अध्ययन पश्चात मात्र गाउँपालिकाले सिफारिस गर्ने पालिका अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
यस कार्यक्रमको कार्यविधि अनुसार त्रिपक्षीय साझेदारी कार्यक्रम अन्तर्गत बाँझो भएको जग्गाको झाँडि फडानी र बिरुवा रोप्नको लागि आवश्यक खाल्डो खन्ने काम प्रधानमन्त्री रोजगार कार्यक्रमबाट गरिनेछ । बिरुवा खरिदमा गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदान दिनेछ । मलको ब्यवस्थापन र बाँकी ५० प्रतिशत बिरुवाको लागत कृषकले ब्यहोर्नु पर्ने छ भने सिँचाईमा पनि गाउँपालिकाले सहयोग गर्नेछ ।

यसरी अहिले गरिएको लगानीबाट ३ देखि ५ बर्षबाट आमदामी लिन थाल्ने गाउँपालिकाको दावी छ । उत्पादन एकै ठाउँमा भएकोले ब्यापारीहरु बगानसम्म नै पुग्ने र नपुगे पनि गाउँपालिका आफैले बजार ब्यवस्थापन गरिदिने गाउँपालिकाको योजना रहेको आर्थिक विकास समिति संयोजक तथा वडा नम्बर १ का अध्यक्ष पुर्णकुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार केहि बर्षबाट हुने उत्पादन भण्डारण तथा ब्यवस्थापनको लागि उत्तरदक्षिण कोशी राजमार्गमा पर्ने पालिकाको केन्द्र चिचिलामा एक भण्डारण गृह निर्माण गर्न सुरु गरिसकेको छ । पालिका भित्रको उत्पादन ढुवानीको सहजताको लागि आगामी बर्ष कृषी एम्बुलेन्स खरिद गर्ने गाउँपालिकाको योजना रहेको आर्थिक विकास समिति संयोजक राईले बताउनुभयो । यो कार्यक्रम आगामी बर्षसमेत निरन्तरता दिने र पालिकाका कृषकहरुलाई बृहद एकिकृत कृषी कार्यक्रममा समेटेर उत्पादन बढाउने तर्फ पालिका लागेको उहाँले बताउनुभयो ।

गाेरखापत्र दैनिकबाट साभार गरिएकाे ।

 

सम्बन्धित समाचार