जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, ३४ जना बिरामी



हेटौँडा । मकवानपुरको विभिन्न स्थानमा असार महिना सुरु भएयता जङ्गली च्याउ खाएर एक बालसहित तीन जनाको मृत्यु भएको छ । ३४ जना बिरामी परेका छन् ।

असार ३ गतेदेखि बिहीबारसम्ममा मकवानपुरको विभिन्न स्थानमा जङगली विषादीयुक्त च्याउ खाँदा ३७ जना बिरामीभएका मध्ये तीन जनाको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

राक्सिराङ गाउँपालिका ७ दुगुवाङका ५५ वर्षीय बलबहादुर प्रजा, कैलाश गाउँपालिका ९ नामटारका २५ वर्षीया निरुमाया रुम्बा र कैलाश गाउँपालिका ९ नामटारका ४ वर्षीय दिपेश लामाको जंगली च्याउ खाएपछि मृत्यु भएको हो ।

प्रहरीका अनुसार च्याउ खाएर बिरामी भएका मध्ये हाल आठ जना उपचाररत रहेको र २६ जना विभिन्न स्वास्थ्य संस्थामा उपचारपछि घर गएका छन् ।

यसैबिच बुधबार राति मकवानपुरको भीमफेदी गाउँपालिकामा जङ्गली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी परेका थिए ।

भीमफेदी गाउँपालिका ६ स्थित उर्लाघारीका एकै परिवारका सदस्यले जङ्गली च्याउ खाई बिरामी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

च्याउ खाएर गएराति बिरामी भएका सबैको अवस्था सामान्य छ ।

सम्बन्धित समाचार