‘हो, मैले पनि स्वास्थ्य बीमासँग आत्मसमर्पण गरेँ’



मोरङको आदर्श मावि रंगेलीका प्रधानाध्यापक विश्वरसिंह मेवाहाङले सोमबार विहान फेसबुकमा एक स्टाटस लेख्नुभएको छः

स्वास्थ बिमा हात्तिको देखाउने दाँत मात्र हो । यसको प्रभावकारिता शून्य भन्दा १ /२ अंक माथी मात्रै होला । जुनदेखि देशका सबै हस्पिटलमा स्वास्थ बिमाको परिचयपत्रले काम गर्न थाल्छ, तब मात्रै खास स्वस्थ बिमा हुन्छ । खास एक हस्पिटलमा मात्र लागू हुने स्वस्थ बिमाको कुनै काम छैन । कोहि बिमा कर्ता काम विशेषले अर्को जिल्ला गएको समयमा बिरामी परे त्यो बेला स्वास्थ बिमाले कामै गर्दैन । स्वास्थ बिमाका बिरामीलाई डाक्टरहरुले देखाउने व्यवहारको कुरै नगरौं । बिल बनाउन र औषधि लिने प्रक्रियाको झन्झट यति दिग्दारी छ नि, बिरामीले आत्मसमर्पण नै गर्छ ।

उहाँले अन्तिम लाइनमा भन्नुभएको जस्तै हालै मात्रै मैले पनि स्वास्थ्य बीमा माथी आत्म समर्पण गरेँ ।

कुरा अलि अगाडीदेखिकै गरौँ । केहि बर्ष अघि गाउँ गाउँमा खटिएको बीमा अभिकर्ताहरु मार्फत स्वास्थ्य बीमा गरियो, तोकिएको शुल्क ३,५०० रुपैयाँ तिरेर । सिलिचोङ गाउँपालिका स्थित ताम्कु प्राथमिक स्वाथ्य केन्द्रलाई सेवाकेन्द्र राखिएको थियो । म आफु जिल्ला सदरमुकाम खाँदबारी बस्ने भएपनि बुवाआमा र बहिनीहरु ताम्कु नै बस्ने भएकोले त्यहाँ नै सेवा केन्द्र राखिएको थियो ।

गाउँमै स्वाथ्य बीमा गरिए पनि एक रुपैयाँको पनि स्वास्थ्य सेवा लिईएन । कारण, त्यहाँ बीमा कार्यक्रमसँग सम्बन्धित सुविधा नै दिईएन । बीमा कार्यक्रम लागु गर्नको लागि केहि आधारभुत कुराहरु चाहिने रहेछ । जस्तो, नियमित चिकित्क, ल्याव आदि ईत्यादि । त्यो बेला थिएन । यत्तिकै सकियो ३,५०० रुपैयाँ ।

त्यो सालपछि स्वास्थ्य बीमा गर्नै छोडिदिएँ, नविकरण गरिँन । काम नदिने बीमा किन गर्नु ?

पछि सेवा दिने केन्द्र नजिक पर्ने गरि जिल्ला अस्पताल खाँदबारी सेवा केन्द्र राखेर नविकरण गरेँ । यहाँबाट भने केहि सेवा सुविधाहरु मिलेकै हो । जसोतसो विमाको क्षेत्र भित्र पर्ने सेवा लिएकै हो । अस्पतालले सेवा दिएकै हो ।

तर बीमा मार्फत सेवा लिन जाँदाको दिग्दारी कहिल्यै नटुङ्गीने भो । शिक्षक मेवाहाङले उल्लेख गर्नुभए जस्तै, चिकित्सकको ब्यावहार, बीमा भित्रका औषधि नपाउनु, सेवा केन्द्र बाहेकको अन्य अस्पतालमा जानु पर्दाको झण्झटिलो प्रकृया, … उफ् । वाक्क लाग्दो । एक अस्पतालमा बीमा मार्फत स्वास्थ्य सेवा लिन पुगेका सेवाग्राहिलाई चिकित्सकले भन्दै थिए, ‘….. यो बीमावालाहरु यत्तिकै अस्पताल आईरहेका हुन्छन्, भएको चाँहि केहि हुँदैन बीमाको पैसा सक्न …… ।’ यो बिषयमा अस्पतालको एक बैठकमा कम्प्लेन चाँहि गरेको थिएँ । अहिले चाँहि के छ, अपडेट छैन ।

माथी नै भने, बीमाको मेरो सेवा केन्द्र खाँदबारी अस्पतालबाट सम्भव भएसम्मको सेवा पाएकै हो । तर यहाँबाट अन्यत्र लिएर गएको मेरो बिरामीलाई बीमा सेवाको लागि पटक पटक प्रयास गर्दा पनि कागजी प्रकृया पुर्याउन नसकेपछि शिक्षक मेवाहाङले भनेजस्तै ‘आत्म समर्पण’ गरेँ ।

बिरामीले शल्यकृयाबाट बच्चा पाउनु थियो । सुरुमा सोको लागि बीमा आवश्यक नपर्ने भनियो । पछि बिरामी भर्ना भएको अस्पतालमा बीमा नभए पुरै खर्च लाग्ने त्यहाँको प्रसासनले भनेपछि यस अघिको बिरामी पुर्जी लिएर पहिलो सेवा केन्द्र खाँदबारी अस्पताल पुगेर रेफर काजग बनाएँ । खाँदबारीबाट तुम्लिङटार गई जहाजबाट रेफर कागज पठाएँ । उता एयरपोर्टमा मान्छे लिन बोलायो, अस्पताल पुर्यायो । बीमा रेफर कागज नभएकोले उता बिरामी भर्ना हुन पाएको छैन । बल्ल रेफर कागज पुग्यो, अब त बिरामी भर्ना हुन्छ लागेको त डाक्टरले रेफर कागजमा लेखेको ‘कुरा’ नै मिलेन भनेर रेफर कागज नै लिन मानेन । त्यहाँको अस्पतालले भने अनुसार फेरी बीमा सेवा केन्द्रको चिकित्सकलाई भेटेर अर्को रेफर काजग बनाएँ, फेरि उसै गरि तुम्लिङटार एयरपोर्ट गएर पठाएँ । अब त कसो नहोला सम्झेँ । उताको अस्पतालमा त्यो काजग देखाउँदा अर्को समस्या देखायो ‘रेफर काजगको मिति ….. लगायत नै मिलेन, यसले काम दिँदैन ।’

भो, अब यो काजगको लागि नदौडने, अब पुग्यो ।

यो दिक्दारी प्रकृयाको बारेमा यस अघि पनि सेवा दिने अस्पतालहरुसँग छलफल पनि नभएको होईन । तर छलफलमा मात्र सिमित भयो । छलफलकै क्रममा थाहा भयो की, अस्पताललाई दिनु पर्ने करोडौँ रकम बीमा बोर्डले दिएकै रहेनछ । थोरै थोरै दियो, अरु सबै बाँकी राखिदिने । कत्तिपय त आवश्यक प्रकृया नपुगेको भनेर बीमा बोर्डले नै ‘बखेडा’ झिक्ने गरेकोले ‘टाईड’ गर्नु परेको अस्पताल प्रसासन बताउँछन् ।

नेपाली कांग्रेसका युवा नेता गगन थापा स्वाथ्यमन्त्री भएकै बेला यो स्वास्थ्य वीमा कार्यक्रम सुरु गरिएको हो । कत्तिपय कांग्रेसीजनहरुले गर्वका साथ भन्ने पनि गरेका छन्, ‘यो हाम्रो नेताले मन्त्री भएको बेला ल्याएको कार्यक्रम हो’ भनेर । हो, बीमा कार्यक्रम मार्फत सहज रुपमा सेवा पाउने हो भने आम सर्वसाधारणको लागि ‘जीवन दान’ नै सावित हुने थियो । तर, यो समस्याका बारेमा माथिल्लो निकायसम्म जानकारी नै नपुगेको हो की, बेवास्ता गरिएको हो ? यो बीमा कार्यक्रम मार्फत सबै सरकारी अस्पतालबाट कुनै सिफारिस वा रिफर बिना नै सेवा लिन पाउने बनाउनलाई त्यस्तो पहाड नै खस्ने कारण के रहेछ ? होईन भने बीमाको नाममा जनतालाई दुख दिनु हुदैन ।

यदि कांग्रेसबाट बनेका मन्त्रीले ल्याएको कार्यक्रमलाई असफल बनाउने खेल थियो भने अहिले नेपाली कांग्रेसकै एक युवा नेता प्रदिप पौडेल स्वास्थ्य मन्त्री बन्नुभएको छ । उहाँ मन्त्री भएको बेला यस विषयमा अध्ययन गरि स्वास्थ्य बीमालाई सर्वसुलभ र सहज बनाउन सक्नु पर्छ । उहाँ जस्तो फ्रेस युवा मन्त्रीले यस विषयमा चासो दिई सेवालाई अध्यावधिक गरे आम सर्वसाधारण नेपाली जनताका लागि धन्यवादको पात्र बन्नुहुनेछ ।

सम्बन्धित समाचार