कार्तिक ७ बाट मानेभञ्ज्याङमा नवौँ अरुण भ्याली फुटबल प्रतियोगिता हुँदै



खाँदबारी । संखुवासभाको मानेभञ्ज्याङमा कार्तिक ७ बाट फुटबल प्रतियोगिता हुने भएको छ । एड्भान्स क्लव मानेभञ्ज्याङको आयोजनामा नवौँ संस्करणको अरुण भ्याली फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो ।

यहि कार्तिक ७ बाट १२ गतेसम्म फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको विहिबार पत्रकार सम्मेलन गरि आयोजले जानकारी दिएको हो । २०६४ सालदेखि सुरु गरिएको फुटबल प्रतियोगिताको नवौ संस्करण मानेभञ्जायङ स्थित महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा हुन लागेको क्लवका सल्लाहकार मेदिनी घिमिरेले जानकारी दिनुभयो । प्रतियोगितामा जिल्ला भित्रका ९ र जिल्ला बाहिरका ३ वटा गरि १२ टिमको सहभागिता रहने घिमिरेले जानकारी दिनुभयो ।

प्रतियोगिता सञ्चालन गर्न २५ लाख ९० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको बताईएको छ । नगद पुरस्कार, खेलमैदान निर्माण, अतिथि ब्यवस्थापन, स्टेडियम निर्माण, खेलकुद सामग्री खरिद लगायतमा खर्च हुने सल्लाहकार घिमिरेले जानकारी दिनुभयो ।
प्रतियोगिता सञ्चालनका लागि सरकारी तथा विभिन्न दाताहरुबाट रकम ब्यवस्थापन गर्ने आयोजकले बताएको छ । स्थानीय सरकार प्रदेश स्थीत खेलकुद निकाय, ब्यापारी ब्यावसायी, बैदेशिक रोजगारीमा रहेका दाताहरु र प्रवेश शुल्कबाट रकम संकलन गर्ने योजना रहेको सल्लाहकार घिमिरेले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाण पत्र सहित नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ट्रफी, मेडल र प्रमाण पत्र सहित नगद एक लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै सेमिफाईनलिष्ट दुवै टिमलाई २५, २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । विषयगत विधा तर्फ सर्वोत्कृष्ठ खेलाडी, सर्वोत्कृष्ठ गोल रक्षक र सर्वाधिक गोलकर्ताले मेडल र प्रमाणपत्र सहित नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

एड्भान्स क्लवले आयोजना गर्दै आएको यस प्रतियोगिता पुर्वी पहाडी जिल्लाकै एक महत्वपूर्ण प्रतियोगिता भएकोले प्रचार प्रसार गरेर सहयोग गर्न एड्भान्स क्लवका अध्यक्ष जिल्लामान राईले आग्रह गर्नुभयो । यो प्रतियोगिता संखुवासभाको खेलकुद महोत्सवको रुपमा स्थापित भएको समेत अध्यक्ष राईले बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्नुहुदै पत्रकार महासंघ संखुवासभाका अध्यक्ष ईन्द्र गिरीले यो प्रतियोगिता एड्भान्स क्लवको मात्र नभएर सवैको आयोजना रहेको प्रतिकृया दिनुभयो । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न जिल्लाका सञ्चार माध्ययमहरुसँग सल्लाह र परामर्श गरेर अगाडी बढ्नु पर्ने समेत सुझाव दिनुभयो ।

प्रतियोगिताको उद्घाटन तथा समापनमा विविध साँस्कृतिक कार्यक्रम समेत राखिएको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार