नवौं अरुण भ्याली फुटबल प्रतियोगिता सुरु, सभापोखरी र सेकाहाको विजयी सुरुवात



खाँदबारी । एड्भान्स क्लव मानेभञ्ज्याङको आयोजनामा आजबाट नवौँ अरुण भ्याली फुटबल प्रतियोगिता सुरु भएको छ । खाँदबारी ३ मानेभञ्ज्याङ स्थीत महेन्द्र माध्यमिक विद्यालयको प्राङगणमा प्रतियोगिता सुरु भएको हो ।

खाँदबारी नगरपालिकाको नगर प्रमुख महेश थपलियाको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा जिल्ला स्थीत प्रमुख राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु, जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । प्रमुख अतिथी लगायतका अन्य अतिथिहरुले खेल सञ्चालक प्राविधिकहरुलाई फुटबल हस्तान्तरण गरेर शुभकामना दिएका थिए ।

प्रतियोगिताका पहिलो दिन दुई खेल खेलाईएको थियो । पहिलो खेलमा सेकाहा सामुदायिक क्लव र खाँदबारी युथ क्लव विच प्रतिष्पर्धा भएको थियो । उक्त खेलमा ३–२ गोल अन्तरले सेकाहा सामुदायिक क्लव विजेता बनेका छन् । पहिलो हाफमा सेकाहाले २ गोल गरेको थियो भने दोश्रो हाफमा खाँदबारी युथ क्लवले २ र सेकाहाले १ गोल गरेको थियो ।

त्यस्तै दोश्रो खेल सभापोखरी फुटबल क्लव र तिनपोखरी क्लव विच भएको थियो । उक्त प्रतियोगितामा ६–० गोलको फराकिलो अन्तरले सभापोखरी विजेता भएका छन् । सभापोखरीले खेलको पहिलो हाफमा ३ र दोश्रो हाफमा ३ गोल गरेका छन् । त्यस मध्ये एक गोल तिनपोखरीले आत्मघाती गोल गरेको थियो ।

पराजित बनेका खाँदबारी युथ क्लव र तिनपोखरी विकास क्लवको प्रतियोगि यात्रा टुङ्गीएको छ भने सेकाहा सामुदायिक विकास क्लव कार्तिक ९ गते आयोजक एड्भान्स क्लवसँग खेल्नेछ । त्यस्तै सोहि दिन सभापोखरी फुटबल क्लवले पाथिभरा फुटबल क्लव सुनसरीसँग प्रतिष्पर्धा गर्नेछ ।

भोली विहिबार पनि दुई खेल सञ्चालन हुनेछ । पहिलो खेल १२ बजे लोहोरुङ क्लव पाङ्मा र मकालु फ्रेण्डस् क्लव विच प्रतिष्पर्धा हुनेछ । दोश्रो खेल दिउँसो २ बजे पञ्चकन्य फुटबल क्लव धर्मदेवी र गाउँले फुटबल क्लव संखुवासभा विच हुनेछ ।

प्रतियोगिता कार्तिक १२ गते सम्पन्न हुनेछ । प्रतियोगिताको विजेताले शिल्ड, मेडल र ट्रफी सहित नगद २ लाख रुपैयाँ प्राप्त गनेछ । उपविजेताले पनि शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद १ लाख रुपैयाँ प्राप्त गनेछन् । सेमिफाईनल खेल्ने दुवै टिमले २५,२५ हजार रुपैया प्राप्त गर्नेछन् । सर्बोकृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही ५,५ हजार रुपैया प्राप्त गर्नेछन् ।

प्रतियोगिताको फाईनल खेलको दिन विबिध साँगितिक कार्यक्रमको समेत आयोजना गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार