नवौँ अरुण भ्याली फुटबल प्रतियोगिताको च्याम्पियन बने पञ्चकन्या फुटबल क्लव



खाँदबारी । संखुवासभाको मानेभञ्ज्याङमा आज सम्पन्न भएको नवौँ अरुण भ्याली फुटबल प्रतियोगितामा पञ्चकन्या फुटबल क्लव धर्मदेवी च्याम्पियन बनेका छन् । विपक्षी टिम चुलाचुली युथ क्लव धनकुटालाई पराजित गर्दै पञ्चकन्याले उपाधि जितेको हो ।

पञ्चकन्याले चुलाचुलीलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । चुलाचुलीका लागि खेलको पहिलो हाफमा तपन कार्कीले गोल गरेका थिए । पहिलो हाफमा चुलाचुलीको दबावमा रहेको पञ्चकन्या दोश्रो हाफमा भने शसक्त खेल प्रदर्शन गरेको थियो । पञ्चकन्याको लागि जिवन मगरले २ गोल गर्दै टिमलाई च्याम्पियन बनाएको हो ।

फाईनल खेलमा आफ्नो टिमका लागि दुई गोल गरेका पञ्चकन्याका जिवन मगर म्यान अफ द म्याच घोषित भएका छन् । प्रतियोगितामा पञ्चकन्याका ज्ञानेन्द्र भण्डारी र सभापोखरी फुटबल क्लवमा जोन ग्लोरी सर्वाधिक गोलकर्ता घोषित भएका छन् । उनीहरु दुवैले प्रतियोगिता भरि ३,३ गोल गरेका थिए । त्यस्तै उत्कृष्ठ गोल रक्षक चुलाचुलीका निकेश सुनदास घोषित भएका छन् भने सर्वोत्कृष्ठ खेलाडी पञ्चकन्याका जिवन मगर घोषित भएका छन् ।

प्रतियोगिताको विजेता पञ्चकन्या फुटबल क्लवले नगद २ लाख रुपैयाँ सहित शिल्ड र मेडल प्राप्त गरेका छन् । पञ्चकन्या गत बर्षको उपाधि विजेता क्लव हो । गत बर्षको फाईनल खेलमा पनि तीनपोखरी क्लवलाई हराएर च्याम्पियन बनेको थियो । त्यस्तै उपविजेता बनेको चुलाचुली युथ क्लवले नगद १ लाख रुपैयाँ सहित शिल्ड र मेडल प्राप्त गरेको छ । सेमिफाईनल खेल्ने सेकाहा सामुदायिक विकास क्लव र सभापोखरी फुटबल क्लवले २५,२५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिताको समापन कार्यक्रम एड्भान्स क्लवका अध्यक्ष जिल्लामान राईको अध्यक्षता तथा कोशी प्रदेशका पुर्व सामाजिक विकास मन्त्री एवम् प्रदेश सभा सदस्य राजेन्द्र कार्की (नविन) को प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको थियो । समापन कार्यक्रममा विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, खेलकुद संघसंस्थाका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

समापन कार्यक्रममा एड्भान्स क्लवको फुटबल टिमको पुर्व कप्तान अरुण भगत श्रेष्ठलाई सम्मान गरिएको छ । क्लवको कप्तान भई गरेका योगदान तथा उपलब्धिको उच्च मुल्याङ्कन गर्दै क्लवले श्रेष्ठलाई सम्मान गरेको हो । श्रेष्ठलाई प्रमुख अतिथी राजेन्द्र कार्कीले सम्मानपत्र तथा दोसल्लाहले सम्मान गरेका थिए । सम्मानित श्रेष्ठ दुर्घटनामा परि हाल अश्वस्थ छन् ।

समापन कार्यक्रममा प्रतियोगिता सञ्चालन गर्न सहयोग गर्ने विभिन्न संघसंस्थाहरुलाई समेत कदर पत्रले सम्मान गरिएको थियो ।

कार्तिक ७ बाट सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । प्रतियोगितामा संखुवासभाका ९ र बाहिरका ३ गरि १२ टिमको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार