खाँदबारी । मकालु गाउँपालिका वडा नम्बर १ वालुङ निवासी युवा समाजसेवी तथा ब्यवसायी मकालु के एल कन्स्ट्रक्सन कम्पनीका डाइरेक्टर लाक्पा रिन्जे शेर्पाले माट्स नेपाल संखुवासभा द्वारा संचालित बाल कल्याण गृहलाई ३२ हजार बराबरको खाद्य सामाग्री हस्तान्तरण गर्नु भएको छ । शेर्पाले खाँदबारी ७ का मिङ शेर्पा र पवन बिष्ट मार्फत उक्त सहयोग सामग्री हस्तान्तरण गर्नु भएको हो।
सामाजिक सेवाको क्षेत्रमा निरन्तर लागि रहनु भएको शेर्पाले संखुवासभा जिल्ला कै एक मात्र साहारा बिहिन बालबालिकाहरुको संरक्षणका लागि संचालित बाल कल्याण गृहलाई सहयोग पुगोस भनेर सहयोग सामाग्री उपलब्ध गराएको बताउनु भयो। सहयोग सामग्रीमा बाल कल्याण गृहलाई तत्काल आवश्यक चामल, तेल, दाल, चिनी, मटर, भुजा, ग्यास लगायतका सामग्री रहेका छन्।
स्थानीय दाताहरुको सहयोगबाट ब्यवस्थापन हुँदै आइरहेको बाल कल्याण गृहलाई शेर्पाको यो सहयोगले बालबालिकाहरुको खाद्य ब्यवस्थापनमा ठुलो टेवा पुगेको संस्थाका कार्यालय सचीव सुजन अधिकारीले जानकारी दिनु भयो ।
यस बाल कल्याण गृहले संखुवासभा, भोजपुर, धनकुटा र तेह्रथुम जिल्लाका साहारा बिहिन र सडक बालबालिकाहरुको अल्पकालीन तथा दीर्घकालीन संरक्षणमा सेवा प्रबाह गर्दै आइरहेको छ । हाल ४ बालिका र ४ बालक बाल कल्याण गृहको संरक्षणमा रहदै आएका छन् ।
प्रतिक्रिया