मत्स्यपोखरी मेलाको तयारी पुरा, टिकटक बनाउने १० जनालाई पुरस्कार



खाँदबारी । हरेक बर्षको कार्तिक शुक्ल पुर्णिमाको दिन लाग्ने संखुवासभाको चिचिला गाउँपालिका ४ स्थीत मत्स्यपोखरी मेलाको तयारी पुरा भएको छ । संखुवासभाकै चर्चित पर्यटकीय स्थल मत्स्यपोखरीको प्राङ्गणमा शुक्रबार लाग्ने मेलाको सम्पूर्ण तयारी पुरा भएको वडा नम्बर ४ का वडा अध्यक्ष बालकुमार तामाङले जानकारी दिनुभयो ।

मत्स्यपोखरी क्षेत्रको सररफाई, सरसजावत, देवीथान तथा विभिन्न देवी देवताको प्रतिमाको पुजा लगायतका कार्यहरु सम्पन्न भएको वडा अध्यक्ष बालकुमार तामाङले जानकारी दिनुभयो । मेलाको अघिल्लो दिन विहिबार जलकन्या देवी, शिव लिङ्ग, बहास, शेष नाग, भगवान गौतम बुद्धको प्रतिमामा विभिवत पुजा गरिएको छ । मेलाको आकर्षणका लागि लुङ्दर ताङ्ने, आकर्षक बत्तिहरु बाल्ने लगायतका कार्यहरु सम्पन्न भईसकेको वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

यस बर्ष मेलाको अवसरमा क्लव स्तरीय फुटबल प्रतियोगितालाई नियमितता दिईएको छ । स्थानीय स्वर्णीम मत्यपोखरी युट क्लवको आयोजनामा चौँथो संस्करणको फुटबल प्रतियोगिता जारी छ । उक्त प्रतियोगिताको फाईनल खेल मेलाको दिन खेलाईने छ ।

यसै विच, मेलामा आएर मत्स्यपोखरीमा टिकटक बनाउने उत्कृष्ठ १० टिकटकरलाई पुरस्कार दिईने भएको छ । मेलामा आई जुनसकुै प्रकारको टिकटक बनाई आफ्नै एकाउटमा पोष्ट गरि सवैभन्दा धेरै भ्युज र राम्रो क्रियसन भएको १० टिकटकरलाई जनहि एक हजार रुपैयाँ प्रदान गरिने छ । उक्त प्रतियोगिताको लागि चिचिला गाउँपालिकाको सुचना प्रविधि अधिकृत ई. जोसन गुरुङको संयोजकत्वमा ३ सदसीय टोली बनाईएको छ । सदस्यहरुमा उमेश घले र जितेन्द्र कुलुङ रहेका छन् ।

मत्स्यपोखरीको प्रचार प्रसारमा सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिता पालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुको आर्थिक सहयोगमा सञ्चालन गरिएको हो । यस प्रतियोगिताले मेलामा केहि रोचकता थप्ने विश्वास लिईएको संयोजक ई. जोसन गुरुङले बताउनुभयो । प्रतियोगिताका लागि भिडियो क्रियटरले आफुले बनाएको भिडियोको लिङ्क वाट्सएप नम्बर ९८४१६६१६६७ मा पठाउनु पर्ने छ । पोष्ट गरिएको भिडियोको भ्युजलाई ७५ प्रतिशत र रचनात्मकतालाई २७ प्रतिशतका आधारमा मुल्याङ्कन गरिने गुरुङले बताउनुभयो । प्रतियोगि टिकटकको भ्युज मंसिर ७ सम्मको मान्य हुनेछ ।

 

सम्बन्धित समाचार