खाँदबारी । ३५ औं अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसरमा इटहरीमा सचेतना कार्यक्रम गरी मनाइएको छ । राष्ट्रिय बालअधिकार परिषद्, बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ कोशी प्रदेशको आयोजनामा बाल संरक्षण सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
ईटहरी उपमहानगरपालिका, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरी, ईलाका प्रहरी कार्यालय ईटहरी, बालहेल्पलाईन सेवा १०९८ मोरङ र सुनसरी, सिविन नेपाल र बालबालिकासँग कार्यरत संस्थाहरुको सहकार्य र भ्वाईस अफ चिल्ड्रेनको सहयोगमा यातायातमा बालसंरक्षण सचेतना कार्यक्रम सञ्चालन गरि मनाईएको राष्ट्रिय बालअधिकार परिषद्, बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ कोशी प्रदेशका समन्वय अधिकृत सुमन अधिकारीले जानकारी दिनुभयो।
सार्वजनिक सवारीका साधनमा २ मिनेट कार्यक्रम अन्तरगत यातायातमा यात्रा गर्ने यात्रीहरुलाई बालबालिका खोजतलास नम्बर १०४ र बालहेल्पलाईन नम्बर १०९८ को बारेमा जानकारी गराईएको थियो भने विभिन्न प्रचार सामग्रीहरुको वितरण गरिएको थियो । कार्यक्रमको शिलसिलामा १ सय वटा यात्रुवाहक बस तथा मिनिबसका करिव २ हजार ५ सय यात्रीलाई जानकारी गराईएको थियो ।
कार्यक्रममा ईटहरी उपमहानगरपालिकाका बालकल्याण अधिकारी, ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक, ईलाका प्रहरी कार्यालयका प्रमुख, विभिन्न संघसंस्था तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
“लिसन टु द फ्युचर” भन्ने विषयबस्तुमा आधारित भएर आज विश्वभरी नै अन्तराष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।
प्रतिक्रिया