बाल कल्याण गृहलाई न्यानो कपडा सहयोग



खाँदबारी । आज खाँदबारी नगरपालिका वडा नम्बर ७ स्थित मकालु त्रिशक्ति समुह नेपाल (माट्स नेपाल) द्वारा संचालित बाल कल्याण गृहलाई न्यानो कपडा सहयोग स्वरुप प्राप्त भएको छ । मकालु के. एल. कन्स्ट्रक्सन प्रा.लि.का डाइरेक्टर लाक्पा रिन्जे शेर्पाले गृहका बालबालिकाका लागि न्यानो कपडा सहयोग स्वरुप उपलब्ध गराउनु भएको हो ।

बाल कल्याण गृहमा उपस्थित भई शेर्पाले एक कार्यक्रमका विच बालबालिकालाई न्यानो कपडा वितरण गर्न भएको थियो । गृहमा संरक्षित बालबालिकाका लागि ८ थान ज्याकेट,८ थान हाइनेक, ८ थान न्यानो सुरुवाल लगायतका कपडा वितरण गर्नु भएकाे हो । कार्यक्रममा बाेल्दै शेर्पाले साहारा विहिन बालबालिकाहरुको लागि केही सहयोग गर्न पाउदा अत्यन्तै खुसी भएको र आगामी एक वर्ष प्रति महिना १० हजारका दरले सहयोग उपलब्ध गराउदै जाने र निरन्तरता दिदै जाने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो । हालसम्म बाल कल्याण गृह संचालन व्यवस्थापन गर्दै साहारा विहिन बालबालिकाको संरक्षण र सुन्दर भविष्य निर्माणमा निरन्तर लागि रहनु भएका संस्थाका जिम्मेवार नयाँ तथा पुराना पदाधिकारीहरु एवं सदस्यहरु प्रति धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।

शेर्पाले यस अघि पनि २०८१ कार्तिक २४ गते बाल कल्याण गृहलाई ३२ हजार बराबरको आवश्यक खाध्य सामग्री सहयोग स्वरुप उपलब्ध गराउनु भएको थियो । सामाजिक सेवाको कार्यमा निरन्तर लागि रहेका शेर्पाले बाल कल्याण गृहलाई आकस्मिक सहयोगको आवश्यकता परे त्यो गर्न पनि आफुु सधै तत्पर रहेको समेत जानकारी दिनु भएको थियो ।

कार्यक्रममा संस्थाका सचिव तथा बाल कल्याण गृह व्यवस्थापन समिती संयोजक ध्रुव खड्काले शेर्पाको यो सहयोगले बाल कल्याण गृहलाई अत्यन्तै ठूलो सहयोग पुगेको र सामाजिक सेवाको कार्यमा सबैले सधै जोडिन मिल्ने र यो कसैको पेवा नहुने बताउनु भएको थियो । कार्यक्रमका सभापति संस्थाका उपाध्यक्ष मुकेश मुदेलले शेर्पाको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा साहारा विहिन बालबालिकाको संरक्षणमा शेर्पा तथा मकालु के. एल. कन्स्ट्रक्सन प्रा.लि. सँग सहकार्य गर्दै जाने बताउनु भएको थियो । कार्यक्रममा संस्थाका कार्यालय सचिव तथा बाल हेल्पलाइन प्रमुख सुजन अधिकारीले बाल कल्याण गृहको विगत र वर्तमानका गतिविधीको संक्षिप्त जानकारी गराउनु भएको थियो ।

बाल कल्याण गृहमा हाल ४ बालक र ४ बालिका दिर्घकालिन संरक्षणमा रहदै आएका छ भने यस गृहले कोशी प्रदेशका संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम लगायतका जिल्लाका साहारा विहिन तथा सडक बालबालिक समेतको संरक्षणमा सेवा प्रवाह गर्दै आएको छ ।

सम्बन्धित समाचार