खाँदबारी । संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा दुई जना राष्ट्रिय भलिबल खेलाडी सहित प्रशिक्षक सम्मानित भएका छन् । मंसिर १५ गते शनिवारका दिन राष्ट्रिय महिला भलिबल खेलाडि सुमित्रा रेग्मी, अन्डर २० की राष्ट्रिय महिला भलिबलकी कप्तान जेनिसा विश्वकर्मा र राष्ट्रिय महिला भलिबलका प्रमुख प्रशिक्षक कुमार राईलाई गृह जिल्लामा शुभ बिहानी नमस्ते क्लबले सम्मान गरेको हो ।
खाँदबारी नगरपालिका वडा नम्बर ५ माल्टाका भलिबल प्रशिक्षक राई, चैनपुर नगरपालिका वडा नम्बर ९ त्रिशुलेकी राष्ट्रिय महिला भलिबल खेलाडि रेग्मी र खाँदबारी नगरपालिका वडा नम्बर ८ पिप्लेकी विश्वकर्मालाई हौसला बढाउन सम्मान गरिएको शुभ बिहानी नमस्ते क्लबका अध्यक्ष खेमराज गुरागाईले जानकारी दिए । सम्मानित खेलाडी तथा प्रशिक्षकलाई सम्मान पत्र र खादा,माला, अविर लगाएर सम्मान गरिएको थियो ।
खाँदबारी नगरपालिका वडा नम्बर ५ माल्टामा गत मंसिर १२ गते देखि १४ गते सम्म आयोजित अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगितामा सहभागी हुन राष्ट्रिय महिला भलिबल खेलाडि रेग्मी, अन्डर २० की राष्ट्रिय महिला भलिबलकी कप्तान विश्वकर्मा तथा राष्ट्रिय महिला भलिबलका प्रमुख प्रशिक्षक राई गृह जिल्ला आएका थिए ।
प्रतिक्रिया