संखुवासभामा मानवअधिकार उलङ्घनका घटना वृद्धि



खाँदबारी । संखुवासभाको सदरमुकाम खाँदबारीमा मानव अधिकार वर्ष पुस्तक सन् २०२५ वार्षिक पूर्व समीक्षा कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) संखुवासभाको आयोजनामा सम्पन्न भएको छ । इन्सेक संखुवासभाले हिजो एक कार्यक्रम गरि सुझाव लिने काम गरेको हो ।

इन्सेक संखुवासभाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार जिल्लामा मानवअधिकार उलङ्घनका घटना वृद्धि भएको पाइएको छ । एक वर्षको अवधिमा ५४ वटा मानवअधिकार उलङ्घनका घटना भएको प्रतिवेदनमा उल्लेख गरेको छ । २१ महिने बालिका बलात्कृत हुनु गम्भीर मानवअधिकार उल्लघंनको घटना भएको इन्सेकको ठहर छ । बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै ५४ वटा घटनामा ५५ जना पीडित भएको इन्सेक प्रतिनिधि भविन कार्कीले बताए । अघिल्ला वर्षहरुमा झै संखुवासभामा हत्या, बलात्कार र कुटपिट जस्ता घटनाले निरन्तरता पाएको अवस्था देखिन्छ । संखुवासभामा ९ जना बालिका सहित १२ जना बलात्कृत, घरेलु हिंसाका ३२, ४ हत्या , कुटपिट गैर राज्य पक्ष ४ जना, हातपात १ जना, आत्माहत्या दुरुत्सान १ जना र कारागारमा १ मृत्यु भएको इन्सेकले उल्लेख गरेको छ । गत बर्ष ५० वटा घटनामा ५१ वटा मानवअधिकार उलङ्घनका घटना भएका थिए । पछिल्लो समय २१ महिने बालिका देखि शारिरिक अपाङ्गता भएका महिला बलात्कृत हुनु तथा मानव अधिकार हननका घटना बढ्दै गएको भन्दै इन्सेकले चिन्ता व्यक्त गरेको छ ।

जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्यले कार्यक्रममा बोल्दै समय सान्दर्भिक ऐन कानुन परिर्वतन हुनु पर्ने आवश्यकता रहेको बताए । उनले मानव जन्मिए लगत्तै आफ्नो अधिकार लिएर आउने भएको हुदाँ आफ्नो अधिकार लिदाँ अर्काको मानव अधिकार हनन् गर्न नुहने बताए । मानव अधिकार उलङ्घनका घटनामा कमी ल्याउन स्थानीय सरकार सरोकारवाला निकाय सबैको भूमिका उल्लेखनीय रहनेमा समन्वय प्रमुख शाक्यले जोड दिए। मानव अधिकार उलङ्घनका घटनामा कमी ल्याउन राज्य तथा सरोकारवाला गम्भीर भएर सबै पक्ष लाग्नु पर्ने खाँदबारी नगरपालिका उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्यले बताइन् । मानव अधिकार उलङ्घन तथा घरेलु हिंसा रोक्न खाँदबारी नगरपालिकाले विभिन्न सचेतनामूलक कार्यक्रम गरिरहेको उपमेयर श्रेष्ठले जानकारी दिइन् ।

इन्सेकको प्रतिवेदनले जिल्ला भित्र भएका समग्र घटनाको चित्रण गरेको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले बताए । कतिपय हिंसाबाट तेस्रो पक्ष पीडित हुने गरेको उहाँको भनाइ थियो । सुझाव सहित मन्तव्य राख्ने क्रममा जिल्ला प्रहरी कार्यालय संखुवासभाका निमित्त प्रहरी प्रमुख रामकुमार लामिछानेले कानुनले वर्जित गरेका घटना घटाउनुनै मानव अधिकार उलङ्घन भएको बताए । स्थानीय तहको न्यायीक समितीमा छलफल तथा उजुरी हुनु पर्ने घटना भएपनि पीडितहरु उजुरीका लागि प्रहरी कार्यालयनै आउने गरेको उनले जानकारी दिए ।

समीक्षा कार्यक्रममा नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्यले विगतको तुलनामा पछिल्लो समय सामाजिक सञ्जालका कारण पनि मानव अधिकार उलङ्घन तथा हिंसाका घटना बाहिरिने गरेको बताए । अध्यक्ष शाक्यले शारिरिक तथा मानसिक रुपमा तन्दुरुस्त रहने अधिकारनै मानव अधिकार भएको धारणा राखेका थिए । अन्तराष्ट्रिय मापदण्ड अनुसार भन्दा पनि नेपालकै परिवेश अनुसारको मानव अधिकारको ब्याख्या र मानव अधिकार हुनु पर्ने कार्यक्रमका सहभागीको धारणा थियो । पछिल्लो समय राज्यले नै मानव अधिकार रक्षा गर्न नसकेको भन्दै प्रभावकारी कार्यक्रम बनाउन समेत सरोकारवालाहरुले सुझाव दिएका थिए ।

कार्यक्रममा संखुवासभामा रहेका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, मानव अधिकार कर्मी, पत्रकार, व्यावसायी लगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार