खाँदबारी । सनिबार सम्पन्न चिचिला गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि सरश्वती मावि बलौटेले जितेको छ । जम्मा ३० खेलमा १२ स्वर्ण पदक जित्दै प्रतियोगिताको विजेता बनेको हो ।
जम्मा ९ खेलमा स्वर्ण पदक जित्दै जालपा मावि डाँडागाउँ दोश्रो, ७ स्वर्ण पदक जितेको धर्मदेवी मावि देवीटार तेश्रो र २ स्वर्ण पदक जितेको प्रभात मावि बर्देउ चौथो भएका छन् । उपाधि विजेता सरश्वतीले छात्र भलिबल, छात्रा कबड्डी, छात्रा लङजम्प, छात्रा हाईजम्प, छात्र ज्याभ्लिङ थ्रो, छात्रा १०० मिटर दौड, छात्र ८०० मिटर दौड मा स्वर्ण पदक जितेको छ । त्यस्तै छात्रा ३,००० मिटर दौड, छात्र सटपुट, छात्र ४ गुणा १०० मिटर रिले दौड, छात्र त्रिपल जम्प र छात्रा त्रिपल जम्पमा स्वर्ण पदक जितेको हो ।
उपविजेता बनेको जालमा माविले छात्रा भलिबल, छात्रा सटपुट, छात्र १०० मिटर दौड, छात्र २०० मिटर दौड, छात्र ४०० मिटर दौड, छात्रा ८०० मिटर दौड, छात्र १,५०० मिटर दौड, छात्रा १,५०० मिटर दौड र छात्र ३,००० मिटर दौडमा स्वर्ण पदक जितेको हो ।
तेश्रो बनेका धर्मदेवीले छात्र कबड्डी, छात्र लङजम्प, छात्र हाईजम्प, छात्रा ४०० मिटर दौड, छात्रा ४ गुणा १०० मिटर रिले दौड, छात्र ४ गुणा ४०० मिटर दौड र छात्रा ४ गुणा ४०० मिटर दौडमा स्वर्ण पदक जितेको हो । प्रभात मावि बर्देउले भने छात्रा ज्याभ्लिङ थ्रो र छात्रा २०० मिटर दौडमा स्वर्ण पदक जितेको हो ।
१२ स्वर्ण सहित उपाधि विजेता सरश्वती माविले ६ रजत र ८ कास्य पदक जितेका छन् । ७ स्वर्ण जितेर उपविजेता बनेका जालपा माविले ६ रजत र ७ कास्य पदक जितेका छन् । ७ स्वर्ण सहित तेश्रो स्थानमा रहेका धर्मदेवी माविले १२ रजत र ४ कास्य पदक जितेका छन् । २ स्वर्ण सहित चौथो स्थानमा रहेका प्रभात माविले ६ रजत र ११ कास्य पदक जितेका छन् ।
माघ २४ बाट धर्मदेवी मावि देवीटारमा सुरु भएको प्रतियोगिता सनिबार सम्पन्न भएको हो । समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पा, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष एवम् चिचिला गाउँपालिका कार्यपालिका सदस्य राजेन्द्र घले, चिचिला गाउँपालिकावडा नम्बर २ का अध्यक्ष दिनेश कुमार राई, वडा नम्बर ५ का अध्यक्ष चन्द्रबीर राई लगायतले पुरस्कार वितरण गरेका थिए । चिचिलामा १५ विधाको खेलमा छात्र र छात्रा तर्फ गरि ३० खेलमा प्रतिस्पर्धा गराईएको थियो ।
प्रतिक्रिया