घरको छानो फेरिएपछि परिवारको मुहारमा खुशी



सोलुखुम्बु । पैसाको अभावमा घरको जीर्ण खरको छानो फेर्न नसकेको सोलुखुम्बुको एक परिवारलाई द पार्ट्नर्स नेपाल संस्थाले नयाँ टिनको छानो उपलब्ध गराएर सहयोग गरेको छ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्कामका राजमान राईको घरलाई छानो छाउन जस्ता पाता उपलब्ध गराएको हो ।

राईको परिवार वर्षौंदेखि चुहिने पुरानो खरको छाना मुनि बस्न बाध्य थिए। वर्षातको समयमा पानी चुहिएर बस्नसमेत कठिन भएपछि द पार्ट्नर्स नेपाल संस्थाले जस्ताको छानो फेर्नका लागि एक लाख रुपैयाँ उपलब्ध गराएको हो । नयाँ छानो पाएपछि राजमान राईले भन्नुभयो, ‘अब पानी चुहिने चिन्ता हट्यो, हाम्रो परिवारले अब सुरक्षित महसुस गरेका छौं ।’

सस्टेनेबल डेभलपमेन्ट, वातावरणीय संरक्षण तथा ग्रामीण क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहेको द पार्ट्नर्स नेपालले यसअघि पनि विपन्न समुदायलाई विभिन्न सहयोग गर्दै आइरहेको संस्थाको अध्यक्ष आङरिता शेर्पाले बताउनुभयो । आइतबार स्थानीय जनप्रतिनिधि तथा बुद्धिजीवीहरुको उपस्थितिमा रकम हस्तान्तरण गरिएको थियो । द पार्ट्नर्स नेपालका कोषाध्यक्ष भलाकाजी कुलुङले संस्थाको आकस्मिक सहयोग कार्यक्रम अन्तर्गत सहयोग गरिएको बताउनुभयो । ‘हाम्रो उद्देश्य कमजोर वर्गको जीवनस्तर सुधार्नु हो, आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं, कोषाध्यक्ष भलाकाजी कुलुङले भन्नुभयो ।

संस्थाको आकस्मिक सहयोग कार्यक्रम अन्तर्गत नै एक जना बिरामीलाई पनि पच्चीस हजार रुपैयाँ नगद सहयोग गरेको छ । छेस्काम कै गृतेराम राईलाई उपचारको लागि नगद सहयोग गरेको हो । स्थानीयबासीले पनि संस्थाको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा निरन्तर सहयोगको लागि अनुरोध पनि गरेका छन् ।

सम्बन्धित समाचार