उर्जामन्त्री खड्काद्वारा एकै दिन दुई पुल उद्घाटन



खाँदबारी । उर्जा जलश्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले गृह जिल्ला संखुवासभामा निर्मित दुई पुलको उद्घाटन गर्नुभएको छ । संखुवासभाको धर्मदेवी ४ र मादी नगरपालिका ६ जोड्ने पुल र चैनपुर १ र मादी नगरपालिका ९ लाई जोड्ने दुई पक्की पुल शनिबार उद्घाटन गर्नुभएको हो ।

शनिबार कार्यक्रमको आयोजना गरि दुबै पुल उद्घाटन गर्नुभएको हो । चैनपुर १ र मादी ९ जोड्ने यावरा खोलामाथिको ६३ मिटर लामो पक्की पुलको निर्माण कार्य २०७३ भदौ २८ गते सुरु गरिएको थियो । पुल २०७९ पुस १२ भित्र सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि निर्माण कम्पनीको ढिलाइका कारण झण्डै तीन वर्षपछि मात्र कार्य सम्पन्न भएको हो ।

उक्त पुल निर्माणमा सात करोड १९ लाख ६५ हजार खर्च भएको डिभिजन सडक कार्यालय तुम्लिङटारले जनाएको छ। निर्माण कार्य कुन्सालिङ निर्माण सेवा भोजपुरले गरेको हो ।

यस्तै, धर्मदेवी ४ र मादी नगरपालिका ६ जोड्ने मायाखोला माथिको ६३ मिटर लामो पक्की पुल २०७४ भदौ २४ गतेदेखि निर्माण थालिएको थियो । निर्धारित म्याद २०७६ फागुन २ गते भए पनि निर्माण कम्पनीले समय थप गरि २०७६ फागुनमा निर्माण सम्पन्न गरेको थियो । पुल निर्माणमा ६ करोड २५ लाख ३९ हजार खर्च भएको छ। यस पुलको निर्माण बिटि निर्माण सेवाले गरेको हो ।

सम्बन्धित समाचार