खाँदबारी । खेमराज गुरुङ ट्रष्टले यस वर्षको स्रष्टा सम्मान वरिष्ठ कलासाधक क्षेत्रबहादुर गुरुङलाई प्रदान गरेको छ । सनिबार काठमाडौंमा ट्रष्टद्वारा आयोजित समारोहमा वरिष्ठ कलासाधक गुरुङ सम्मानित भएका हुन् ।
२००७ सालमा तत्कालीन स्याङ्जाको मट्टिखान, धुवाँरकोट (हाल: पोखरा महानगरपालिका-२१, कास्की)मा जन्मिएका गुरुङले लोक गीतसंगीत र लोक संस्कृतिमा पुर्याउनुभएको अतुलनीय योगदानको कदरस्वरुप यो सम्मान प्रदान गरिएको ट्रष्टले जनाएको छ । गुरुङलाई ट्रष्टले ५० हजार रुपैयाँको राशीसहित सम्मान-पत्र प्रदान गरेको छ । गुरुङका ‘कलिलो तामालाई’, ‘१६ वर्षे उमेरैमा’, ‘झण्डै मैले सिन्दूर घसेको’लगायत गीतहरु चर्चित छन् ।
यसअघि यो सम्मान गीतकार रत्नसम्शेर थापा (२०७४), संगीतकार प्रकाश गुरुङ (२०७५), वरिष्ठ जनपक्षीय गायक रामेश (२०७६), गायक दीप श्रेष्ठ (२०७९), भजन शिरोमणि गायक भक्तराज आचार्य (२०८०) र संगीतकार शिलाबहादुर मोक्तान (२०८१)लाई प्रदान गरिएको थियो ।
यसैगरी ट्रष्टले प्रतिभा पुरस्कार गीतकार विपिन किरणलाई प्रदान गरेको छ । दर्जनौं लोकप्रिय गीत रचना गरेर नेपाली सुगम संगीतको श्रीवृद्धिमा महत्वपूर्ण योगदान दिएका उनलाई ट्रष्टले २० हजार रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गरेको हो । यसअघि यो पुरस्कार मेलिना राई (२०७४), ओमप्रकाश राई (२०७५), सुसन लामा (२०७६), भविन ढुंगाना (२०७९), तुलसी बस्नेत (२०८०), टीका चाम्लिङ (२०८१)लाई प्रदान गरिएको थियो ।
२०७७ र २०७८ सालको सम्मान तथा पुरस्कार वितरण कार्यक्रम भने कोभिड-१९ महामारीका कारण स्थगित गरिएको थियो ।
खेमराज गुरुङ ट्रष्ट नेपाली गीत-संगीत, कला-साहित्य र संस्कृतिको श्रीवृद्धिका लागि विभिन्न गतिविधि सञ्चालन गर्ने, नयाँ प्रतिभालाई पुरस्कृत गर्दै हौसला प्रदान गर्ने तथा अग्रज स्रष्टालाई सम्मान गर्ने लगायतका उद्देश्य राखेर २०७३ सालमा स्थापना गरिएको हो । ‘वारि जमुना, पारि जमुना’, ‘आलु तामाले’, ‘धरान बजार’लगायत दर्जनौं लोकप्रिय गीतका सर्जक खेमराज गुरुङको २०७३ साल भदौमा कृष्ण जन्माष्टमीको दिन निधन भएको थियो ।


प्रतिक्रिया