काठमाडौंमा अहिंसा महोत्सव – २०८२ आयाेजना हुँदै



काठमाडौं । नेपाल शाकाहारी संघले अहिंसा महाेत्सवकाे आयाेजना गर्ने भएकाे छ । भदौ १२ गते बिहीवारदेखि भदौ १४ गते शनिबारसम्म ३ दिने महाेत्सव नेपाल प्रहरी क्लब प्रदर्शनीमार्ग, भृकुटीमण्डप काठमाडौँमा आयाेजना गर्न लागेको हो ।

‘करुणाले जोड्छ’ भन्ने मुल नारासहित सम्पन्न हुन लागेको महोत्सवमा सबैका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । पशुपक्षी प्रेम, मानव स्वास्थ्यको ख्याल गर्ने र पृथ्वी तथा वातावरणको हितका लागि ‘पूर्ण शाकाहारी’ जीवनशैली प्रवर्द्धन गर्ने याे कार्यक्रमको मुख्य उदेश्य रहेकाे बताइएको छ ।

महोत्सवले अहिंसाका मूल्य र शाकाहारी जीवनशैलीमा रुचि राख्ने पशुमुक्ति अभियन्ता, विभिन्न संघसंस्था र समुदायलाई जोड्ने अपेक्षा राखेको छ । कार्यक्रमका प्रमुख आकर्षणमा दिगो जीवन पद्धति, शाकाहारी जीवनशैली र पशु अधिकार सम्बन्धी अन्तरक्रिया रहनेछन् । त्यस्तै, कार्यक्रममा भरतनाट्यम नृत्यलगायत साङ्गीतिक प्रस्तुति, योग सत्र, देशविदेशका अभियन्तासँग प्रत्यक्ष भेटघाट र अनुभव आदानप्रदान, शाकाहारी परिकार तथा पकाउने विधिको प्रदर्शन र विशेष रात्रिभोज रहनेछन् । महोत्सवमा पूर्ण शाकाहारी (भिगन) खानाहरूको समेत स्टल रहनेछन् । केहि स्टलमा निःशुल्क रूपमा भिगन खाना चाख्ने स्किमको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

महोत्सवमा ५० हजारभन्दा बढी दर्शकको उपस्थिति रहने आयोजकको अनुमान छ । त्यस्तै, महोत्सवमा खाना लगायत शाकाहारी उत्पादनका ६० भन्दा बढी कक्ष, ४० भन्दा बढी वक्ता र २० भन्दा बढी सहभागी संस्था रहनेछन् । जसमा अन्तर्राष्ट्रिय वक्ताहरूसमेत रहनेछन् । संघले २०७४ सालमा पनि काठमाडौँमा ३५ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागितामा आठौँ एसिया-प्यासिफिक भेजिटेरियन कांग्रेस (एपिभिसी) सफलतापूर्वक आयोजना गरेको थियो ।

शाकाहार र अहिंसा प्रवर्द्धनको क्षेत्रमा शाकाहारी संघ झन्डै दुई दशकयता नेपालभित्र विभिन्न गतिविधिमा क्रियाशील रहेका छन् । कार्यक्रमको सह-आयोजकमा काठमाडौँ एनिमल सेभ मुभमेन्ट, समस्त महाजन, श्रीकृष्ण प्रणामी समाज र वर्ल्ड भिजन अर्गनाइजेसन रहेका छन् । कार्यक्रम प्रायोजकमा वर्ल्ड भिगन भिजन र म्याजिक मार्बल फाउन्डेसन रहेको छ ।

सम्बन्धित समाचार