करेन्ट लागेर संखुवासभामा एक मजदुरको मृत्यु



खाँदबारी । सङ्खुवासभा चैनपुरमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । चैनपुर नगरपालिका –४ मा रहेको सुपर हेवा हाइड्रोपावरमा कार्यरत काभ्रेपलाञ्चोक जिल्लाको पनौति नगरपालिका १ का २९ बर्षीय क्रान्ति तामाङको मृत्यु भएको हो ।

सुपर हेवा हाइड्रोपावरमा कार्यरत मजदुरलाई करेन्ट लागेपछि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक नरेश लिम्बुले जानकारी दिनुभयो । शनिबार दिउँसो १ बजे सुपर हेवा हाइड्रोपावर स्थलमा विद्युत पोल आसपासको रुखको हाँगा हटाउने क्रममा करेन्ट लागेर तामाङ गम्भीर घाइते भएका थिए । गम्भीर घाइते तामाङको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा मृत्यु भएको प्रहरी निरीक्षक लिम्बुले बताउनुभयो ।

सुपर हेवा हाइड्रोपावरका ७ कर्मचारी मध्ये उहाँ सिनियर कर्मचारी हुनुहुन्थ्यो । विद्युत पोल आसपासका रुख हटाउने क्रममा तामाङलाई अचानक करेन्ट लागेको सुपर हेवा हाइड्रोपावरका प्रबन्ध सञ्चालक निमा लामाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार