संखुवासभामा ५० जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया



खाँदबारी । संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको तेजरत्न आँखा तथा कान उपचार केन्द्रमा ५० जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । तेजरत्न आँखा तथा कान उपचार केन्द्र तथा विराटनगर आँखा अस्पताल, विराटनगरको प्राविधिक सहयोगमा ५० जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको हो ।

तेजरत्न आँखा तथा कान उपचार केन्द्रले विराटनगर आँखा अस्पतालका दक्ष विशेषज्ञको टोलीलाई खाँदबारीमा ल्याएर सेवा प्रदान गरेको हो । भदौ १९ र २० गते सञ्चालन भएको शिविरमा ५० जनाको सफलतापूर्वक मोतियाबिन्दु शल्यक्रिया गरिएको उपचार केन्द्रका प्रमुख क्षितिज बरालले जानकारी दिनुभयो ।

त्यस्तैगरी शिविरमा करिब २ सय ५० जनाको आँखा सम्बन्धी सामान्य स्वास्थ्य परीक्षण गरिएको उपचार केन्द्रका प्रमुख बरालले बताउनुभयो । गाउँघरमै सहज रूपमा आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले यस किसिमका शिविर नियमित रूपमा सञ्चालन गर्दै आएको तेजरत्न आँखा तथा कान उपचार केन्द्रले जनाएको छ । शिविरमा शल्यक्रिया र परीक्षणका क्रममा दृष्टि समस्या देखिएका बिरामीलाई तत्काल उपचार गरिएको र आवश्यकता अनुसार निःशुल्क चस्मा समेत वितरण गरिएको थियो ।

दुई दिनसम्म चलेको शिविरमा उपचारका लागि आएका बिरामीलाई स्वास्थ्य परीक्षण, आँखा चेकजाँच, शल्यक्रियासम्बन्धी तयारी तथा आवश्यक परामर्श दिइएको थियो । धेरैजसो बिरामी मोतिया बिन्दुका कारण दृष्टि धमिलो, उज्यालोमा देख्दा समस्या र आँखामा पानी झर्ने जस्ता लक्षणका साथ आएका थिए ।

सम्बन्धित समाचार