धनकुटा । धनकुटामा विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस २०८२ मनाइएको छ । बसपार्कस्थित सहिद स्तम्भमा माल्यार्पण एवम् अन्तरक्रिया कार्यक्रम गरी संविधान दिवस मनाइएको हो ।
धनकुटाको भिमनारायण चोकबाट सुरु भएको प्रभातफेरी भिमसेन थान, परिचय मोड, मदन चोक हुँदै बसपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै कोशी प्रदेश सांसद इन्द्रमणि पराजुलीले नेपाली आमाबुवाका छोराछोरीले ज्यानको आहुती दिएर ल्याएको संविधानको सबैले रक्षा गर्नुपर्ने बताउनु भयो।
उनले जेनजीले उठाएका माग सम्बोधन गर्ने र गरेका गल्ती तथा कमीकमजोरी सच्याएर अगाडि बढ्नुपर्ने अबको आवश्यकता रहेको औँल्याए । मुलुकलाई रूपान्तरण गर्नका लागि सबैको साथ सहयोगको खाँचो रहेको उहाले बताउनु भयो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख निरन तामाङले सबैजना एक भएर अघि बढ्नुपर्ने उल्लेख गरे । उनले देशमा विभिन्न ठूला आन्दोलन पश्चात् परिवर्तन भएको बताउनु भयो । उनले संविधानको परिपालना गर्नु सबैको कर्तव्य रहेको औँल्याए ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले संविधान पदक भएको बताउँदै कार्यलयको तर्फबाट कार्यन्वयनको क्रममा नागरिकलाई दिनुपर्ने सेवा सुविधा अझ प्रभावकारी बनाउने उद्घोष गरे । उनले कर्मचारी शासक नभइ सेवक भएको उल्लेख गर्दै सकारात्मक सोचका साथ अगाडि बढ्न सबैलाई आग्रह गरे ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।
रासस


प्रतिक्रिया