विराटनगर । रकम लेनदेनको विषयमा भएको विवादलाई लिएर विराटनगरका एक युवकले भाउजूलाई एसिड प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।
विराटनगर महानगरपालिका–९ मधुमारास्थित धोबियारी चोकका २५ वर्षीय श्रवण साहले २२ वर्षीया भाउजू रागिनीदेवी साहलाई एसिड प्रहार गर्दा उहाँ गम्भीर घाइते हुनुभएको छ ।
घटनापछि पीडक साह फरार रहेको प्रहरीले जानकारी दिएको छ । भाउजूलाई एसिड प्रहार गरेका श्रवणले दाजु सन्तोष साहलाई पनि ज्यान मार्ने धम्की दिएको परिवारका सदस्यले बताएका छन् ।
सामान्य घरायसी विवादबाट बढेर तेजाब प्रहारजस्तो गम्भीर अवस्था निम्तिएको देखिएको छ । पीडितका पति सन्तोष साहका अनुसार, भाइ श्रवणले भाउजू रागिनीसँग तीन हजार रुपियाँ मागेका थिए । रागिनीले आफूसँग भएको दुई हजार दिएको र एक हजार अहिले दिन नसक्ने बताएपछि विवाद भएको थियो ।
रागिनीको न्यूरो अस्पताल उपचार भइराखेको छ । रागिनीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । साह परिवारमा आमा, दुई छोरा, बुहारी र नातिनातीनी गरी ६ जना एकाघरमा बस्दै आएका थिए ।
पीडितका आफन्तले घटनाबारे प्रहरीलाई जानकारी गराइसकेका छन् । जिल्ला प्रहरी कार्यालय, विराटनगरले फरार रहेका पीडक श्रवण साहको खोजी भइरहेको जानकारी दिएको छ । दिउँसोसम्म श्रवण पक्राउ नपरेको मोरङ प्रहरीकी प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिनुभयो ।
गोरखापत्रबाट साभार


प्रतिक्रिया