विराटनगर । बर्खा सकिएर हिउँद लागेसँगै नयाँ घर निर्माण गर्ने तयारीमा रहेकाले घर बनाउन सुरसार गर्छन्। प्रायः गरेर भदौ महिनाबाट तराई मधेशमा नयाँ घर बनाउन थाल्ने गरेको पाइन्छ। विराटनगर महानगरपालिकामा पनि नयाँ घर बनाउनका लागि भदौ महिनामा करिब २० वटा नयाँ अनुमति माग भएको थियो। कतिपयले अनुमति पाएका थिए भने कतिपयको प्रक्रियामै रहेको बेलामा महानगरपालिकामा आगजनी भयो ।
आगजनीका कारण नयाँ घर निर्माण गर्न चाहने नगरवासीले केही समय कुर्नुपर्ने भएको छ । महानगरपालिकाको घरनक्सा शाखामा आगजनीबाट सम्पूर्ण फाइल र विवरण नष्ट हुँदा तत्काल सेवा प्रवाह गर्नसक्ने अवस्था नरहेकोले नयाँ घर निर्माणको प्रक्रिया ठप्प भएको हो । नक्सा पासको प्रक्रिया कहिलेबाट सुरु हुन्छ भनेर महानगरमा सोध्न आउने दैनिक बढिरहेको शाखाका प्रमुख तथा इन्जिनियर गोपाल पोखरेलले बताउनुभयो । उहाँले नक्साको काम कसरी सुरु गर्ने भन्ने विषयमा निर्णय गर्न बाँकी रहेकोले केही समय कुर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
शाखाका प्रमुख तथा इन्जिनियर गोपाल पोखरेलका अनुसार आगलागीले शाखाको सम्पूर्ण भौतिक अभिलेख नष्ट पारेको छ, जसका कारण तत्काल नयाँ नक्सा पास गर्ने वा निर्माण अनुमति दिने काम पूर्णरूपमा ठप्प भएको छ ।
“आगलागीबाट शाखामा रहेका सबै फाइल जलेर नष्ट भएका छन्, हामीसँग कुनै पनि आधिकारिक रेकर्ड बाँकी छैन, “पोखरेलले भन्नुभयो, “यसले गर्दा सेवा प्रवाह सुरु गर्न केही समय लाग्ने निश्चित छ ।”
आगलागीबाट महानगरपालिका स्थापना भएदेखि हालसम्म नक्सा पास भएका करिब ५० हजारभन्दा बढी घरका फाइलहरू जलेर नष्ट भए । यसका साथै, निर्माण प्रक्रियामा रहेका करिब १४ सय फाइल र पहिलो चरणको अनुमति लिएका तर दोस्रो चरणको प्रक्रियामा नगइसकेका करिब दुई हजार घरधनीको कागजात पनि पूर्णरूपमा नष्ट भएको छ । पहिलो चरणको मात्र अनुमति लिएका व्यक्तिसँग नक्साको प्रतिलिपि नहुने हुँदा उनीहरू सबैभन्दा बढी मारमा परेका छन् ।
बर्खा सकिएर हिउँद लागेसँगै घर निर्माणको सिजन सुरु भएकाले नयाँ घर बनाउन अनुमति माग्न आउनेको सङ्ख्या बढिरहेको छ । तर, कार्यालयसँग कुनै अभिलेख नभएकाले तत्काल सेवा दिन नसकिने अवस्था रहेको पोखरेलले बताउनुभयो। कार्यालयमा दैनिक रूपमा सेवाग्राही कार्यालयमा सम्पर्क गर्न आइरहेका छन्, तर हालको अवस्थाबारे जानकारी गराएर सेवाग्राही फर्काइरहेको उहाँले बताउनुभयो ।
सेवा पुनः कसरी सुरु गर्ने भन्ने विषयमा महानगरपालिकाभित्र छलफल भइरहेको पोखरेलले जानकारी दिनुभयो । हालको लागि सेवाग्राहीसँग भएको नक्साको प्रतिलिपिलाई आधार मानेर नयाँ अभिलेख खडा गर्ने विकल्पमाथि विचार भइरहेको छ। उहाँले भन्नुभयो, “हामीले अब सेवाग्राहीसँग भएको नक्साको प्रतिलिपि मागेर त्यसैलाई फाइल बनाइ रेकर्डको रूपमा राख्ने र काम अघि बढाउने विषयमा छलफल गरेका छौँ । जसको नक्सा पास भइसकेको छ वा प्रक्रियाको दोस्रो–तेस्रो चरणमा हुनुहुन्छ, उहाँहरूसँग एक–एक प्रति हुन्छ, त्यसैलाई आधार मान्नुपर्ला ।”
विगतमा विराटनगरमा वार्षिक एक हजारदेखि १५ सयसम्म नयाँ घर बन्ने गरेको भए पनि पछिल्लो समय देशमा देखिएको आर्थिक मन्दीका कारण गत वर्षदेखि यो सङ्ख्यामा उल्लेख्य गिरावट आएको थियो । पछिल्लो समयमा मासिक १२ देखि १५ वटा नयाँ घरको नक्सा पास हुने गरेको थियो । यो आगलागीले महानगरपालिकालाई ठुलो प्रशासनिक चुनौती थपिदिएको छ भने नयाँ घर बनाउने योजनामा रहेका हजारौँ नगरवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
गोरखापत्रबाट साभार


प्रतिक्रिया