खाँदबारी अस्पतालको कम्पाउण्ड भित्रको बाटोलाई मुल सडकको रुपमा प्रयोग



खाँदबारी । संखुवासभा जिल्ला अस्पताल भित्र बिरामीका लागि सवारी साधन प्रवेश गर्ने बाटोलाई ‘पब्लिक रोड’को रुपमा प्रयोग गरिएको पाईएको छ । नयाँ निर्मित भवनको तल्लो पट्टि (भेटेरीनरी अस्पताल तर्फ) बनाईएको दुई गेटलाई सवारी चालकहरुले पब्लिक रोडको रुपमा प्रयोग गरिएको पाईएको हो ।

पुरानो अस्पताल गेटदेखि प्रहरी चोक हुँदै पशु अस्पताल तथा विज्ञ केन्द्र तर्फको थोरै घुम्ति सडक छल्न अस्पतालको कम्पाउण्ड भित्रको सडक प्रयोग गरिएको पाईएको हो । सवारी साधनबाट बिरामी ल्याउने प्रयोजनको लागि बनाईएको सडकलाई सर्वसाधारण सवारी चालकहरुले प्रयोग गरेपछि समस्या हुने गरेको अस्पताल आएकाहरुले बताएका छन् । मुख्य गरि मोटरसाईकल र टेम्पो चालकहरुले अस्पतालको भित्रि सडक प्रयोग गर्ने गरेको पाईएको केहि दिनदेखि विरामीको कुरुवा बसेका राजन कुलुङले बताउनुभयो । घाँस बोक्नेहरुले समेत यहि बाटो प्रयोग गरेको पाईएको उहाँले बताउनुभयो ।

कत्तिपय अस्पताल भित्रको बाटो प्रयोग गर्ने सवारी चालकहरुले हर्न समेत बजाईदिदा ध्वनी प्रदुषणको शिकार समेत बन्न पुगेको अर्का बिरामी कुरुवा बिकास राईले बताउनुभयो । यो बाटो भएर करिव ५ मिनेटको अन्तरमा सवारी चालकहरुले वारपार गर्ने गरेको उहाँले बताउनुभयो ।

यस विषयमा अस्पताल ब्यवस्थापन समिति अध्यक्ष सुमन शाक्यसँग कुरा गर्दा यो समस्याको समाधान गरिने बताउनुभयो । जिल्ला समन्वय समिति प्रमुख समेत रहनुभएका उहाँले अस्पताल जस्तो संवेदनशिल क्षेत्रको प्रवेश मार्गलाई मुल सडक जस्तै प्रयोग गर्न नहुने बारे सचेत नहुनु दुखद रहेको बताउनुभयो ।

सम्बन्धित समाचार