धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले पनि अस्थायी र करारका कर्मचारीको नियुक्ति तथा सम्झौता रद्द गर्ने भएको छ । नगरपालिकाले आज सूचना जारी गर्दै अस्थायी र करारका कर्मचारीहरूसँगको सम्झौता र नियुक्ति आगामी कात्तिक १ गतेबाट रद्द हुने जानकारी दिएको हो
यसले नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय र वालविकासका २७ जना कर्मचारीको जागिर गुम्ने नगरपालिकाले जनाएको छ । सबैभन्दा बढी नगर स्वास्थ्य केन्द्रका कर्मचारीको जागिर गुम्ने भएको छ । ७ वटा नगर स्वास्थ्य केन्द्रका करिब १५ जना कर्मचारी हट्नेछन् । त्यस्तै, शिक्षक, सामाजिक परिचालक र कार्यालय सहयोगीको पनि जागिर गुम्नेछ ।
सरकारले स्वीकृत दरबन्दी बाहेकमा अस्थायी तथा करारमा कर्मचारी राख्न नपाइने भनेर निर्देशन गरेकाले कर्मचारीहरू हटाउने निर्णय गरिएको मेयर ध्रुवराज रायाले बताउँनुभयो। ‘सरकारले निर्देशन गरेपछि कर्मचारी हटाउनुपर्ने अवस्था आयो,’ मेयर रायाले संगालोखबरसँग भने, ‘यसले धेरै काम प्रभावित हुन्छ, शिक्षा शाखा त अब कसरी चलाउने भन्ने अन्यौल भएको छ ।’
सरकारको निर्देशनपछि धेरै पालिकाहरूले अस्थायी र करारका कर्मचारीहरू धमाधम हटाउन थालेका छन् । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पनि सम्झौता रद्द गर्ने निर्णय गरिसकेको छ ।
संगालोखबरबाट सभार


प्रतिक्रिया