खाँदबारी । किर्तिमानी आरोही लाक्पा शेर्पाले ईण्डोनेसियाको सबैभन्दा अग्लो हिमाल कार्स्टेन्स पिरामिड आठ दिनमा चार पटक सफलतापुर्वक आरोहण गरेका छन् । ४ हजार ८ सय ८४ मिटर उचाई रहेको कठिन मानिएको कार्स्टेन्स पिरामिड हिमाल छोटो समयमा चढ्ने पहिलो नेपाली बनेका हुन् ।
शेर्पाले अक्टोबर १९ का दिन स्थानीय समय अनुसार बिहान ७ः०० बजे शिखरमा पुगेका थिए । त्यसपछि अक्टोबर २२ का दिन बिहान ७ः४० बजे, अक्टोबर २४ का दिन दिउँसो १२ः२८ बजे र अक्टोबर २७ का दिन बिहान ६ः०० बजे चौथो पटक आरोहण पूरा गर्दै सबै भन्दा छोटो समयमा चार पटक कार्स्टेन्स पिरामिड सफल आरोहण गर्ने पहिलो नेपाली बनेका हुन् ।
शेर्पाले नेपाली तथा विदेशी आरोहिहरुको ‘स्क्सपर्ट गाईड’को रुपमा सफलतापूर्वक आरोहण गरेका हुन् । उनले फोर्टिन पिक्स एक्सपिडिसन मार्फत आरोहण टोलीको नेतृत्व गर्दै आरोहण गरेका हुन् ।
सङ्खुवासभाको मकालु गाउँपालिका १ वालुङमा जन्मेका शेर्पाले सन् २०२२ मा १६ दिनभित्र तीनपटक मकालु हिमाल आरोहण गरेर गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएका थिए । अनुभवी हिमाल गाइड शेर्पाले हालसम्म मकालु हिमाल आठ पटक आरोहण गरिसकेका छन् । उनलाई “मकालु लाक्पा” भनेर चिनिन्छ। आफ्नो गृह जिल्लामा रहेको विश्वको पाँचौ अग्लो मकालु हिमालमा पर्यटक तथा आरोहिहरु उल्लेख्य संख्यामा ल्याउने कार्यमा आफु केन्द्रीत रहेको शेर्पाको भनाई छ ।
शेर्पाले हालसम्म नेपाल र नेपाल बाहिरका गरि दर्जन बढि हिमाल आरोहण गरिसकेका छन् । १५ वर्षको उमेरमा भरियाको रुपमा पहिलो पटक हिमालमा पुगेका शेर्पा हाल देश विदेशका हिमालका लागि सिनियर गाईडको रुपमा ब्यस्त छन् । यसपछि अर्जेन्टिनाको सबैभन्दा अग्लो हिमाल, अमेरीकोको सबैभन्दा अग्लो हिमाल र अन्टार्कटिका हिमाल चढ्ने तयारी भईरहेको शेर्पाले बताए ।


प्रतिक्रिया