काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङले गत भदौ २३ र २४ गतेको घटनामा प्रहरीलाई गोली हान्ने आदेश कसैले नदिएको बताएका छन् ।
इमेज च्यानलको कार्यक्रम ‘हटसिट’लाई बिहीबार अन्तर्वार्ता दिने क्रममा खापुङले त्यो सबै तत्कालीन परिस्थितिको उपज भएको जवाफ दिएका छन् ।
गत भदौ २३ गते जेन–जीका नाममा भएको प्रदर्शनका क्रममा गोली चल्दा काठमाडौंमा १७ र सुनसरीको इटहरीमा २ सहित १९ जनाको ज्यान गएको थियो ।
उता भदौ २४ गते मच्चाइएको विध्वंशका क्रममा लुटपाट र आगजनी हुँदा थप ५७ जनाले ज्यान गुमाएका थिए । त्यसक्रममा आन्दोलनकारी २३ जना, १० जना कैदी र तीनजना प्रहरी पनि मारिए । अन्य ४१ जना कसरी मारिए भन्ने अहिलेसम्म खुलेको छैन । भाटभटेनी सुपरमार्केटमा जलेर मात्रै १२ जनाको मृत्यु भएको थियो ।
दुई दिने यो विध्वंशको दोष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि थोपरिरहेका बेला खापुङले परिस्थिति भड्किएपछि गोली चलेको खुलाएका हुन् ।
उक्त प्रकरणमा खापुङसहित प्रहरी नेतृत्व आलोचना भइरहेको छ । यो अवस्थामा खापुङले प्रहरीले कानुनी दायित्वअनुसार संसद् भवनजस्ता संवेदनशील संरचना जोगाउन बल प्रयोग गरेको बताएका छन् ।
‘मानिसको मृत्यु आफैँमा दुःखद् हो। त्यो घटनाले हामीलाई गहिरो पीडा दिएको छ। म व्यक्तिगत रूपमा क्षमाप्रार्थी छु’, उनले अन्तर्वार्ताका क्रममा भनेका छन् ।
उनलाई उक्त अन्तर्वार्ताका क्रममा गोली चलाउने आदेश कसले दियो भन्ने प्रश्न पनि गरिएको थियो । ‘त्यस्तो आदेश कसैले दिएको होइन। परिस्थिति त्यस्तो बनाइयो कि प्रहरीले अन्ततः बल प्रयोग गर्नैपर्ने भयो’, उनले भने, ‘हामी न्यूनतम बल प्रयोग गर्ने तयारीमै थियौँ, तर स्थिति नै नियन्त्रण बाहिर गएपछि गोली चलाउनुपर्यो।’
आईजीपी खापुङले भदौ २३ गते संसद् भवनमा ‘घुसपैठिया’ प्रवेश गरी आगजनी र तोडफोड गरेपछि प्रहरीले कानुनी अधिकार प्रयोग गरेको बताए । ‘मानिसलाई लक्षित गरेर गोली हान्ने आदेश कसैले दिँदैन। त्यो तत्कालीन अवस्थाबाट सिर्जित निर्णय थियो’, उनले अगाडि भनेका छन् ।
तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले आदेश दिएको भन्ने आरोपको उनले खण्डन गरे। ‘प्रधानमन्त्री वा गृहमन्त्रीले त्यसरी आदेश दिने कुरा हुँदैन’, उनले भने, ‘सबैले आफ्नो जिम्मेवारी ऐन र कानुनअनुसार पूरा गर्छन्, भदौ २३ र २४ गते भएको पनि त्यही हो।’
खापुङले अन्तर्वार्ताका क्रममा ती घटनाको जिम्मेवारी लिन तयार रहेको बताए । प्रहरीले आफ्नो स्वार्थमा नभई कानुनी दायित्व पूरा गर्न काम गरेको पनि उनले जवाफ दिए । ‘राज्यका महत्वपूर्ण संरचना जोगाउन अन्तिममा बल प्रयोग गरिएको हो’, उनले भने, ‘प्रहरी अझै सम्यमित नभएको भए हताहती धेरै ठूलो हुन सक्थ्यो ।’
प्रहरीले भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धान गर्न विशेष टिम बनाएको पनि जानकारी उनले दिए । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय छानबिन आयोगले पनि काम गरिरहेको उनले खुलाए ।
उनले ‘घुसपैठिया’ बारे पनि थप खुलाउँदै व्याख्या गरेका छन् । ‘जेन–जीहरूको कार्यक्रममा आगजनी र हिंसात्मक गतिविधिको कुनै योजना थिएन’, उनले भने, ‘तर, घुसपैठीयाले स्थिति उत्तेजित बनाएर परिस्थिति भड्काए । त्यसपछि जेन–जी नेताहरूले आफ्ना समर्थकलाई घर फर्किन आग्रह गरेका थिए।’
खापुङले सुरक्षा निकायबीच जेन(जी आन्दोलनका क्रममा राम्रो समन्वय भएको बताए । सेना र प्रहरीबीच तालमेल नभएको कुराको उनले अस्वीकार गरे । राज्यका सूचना संयन्त्र असफल भएको कुरा अस्वीकार गरेका उनले पर्याप्त ध्यान नदिएको भने स्वीकार गरेका छन् ।
२४ भदौमा भएको त्यति ठूलो विध्वंशका क्रममा नेपाली सेना र नेपाल प्रहरीले ‘मानिसलाई बचाउनकै लागि बल प्रयोग नगरेको’ बताउँदै खापुङले सुरक्षा निकायको संम्यताले ठूलो क्षति टरेको उल्लेख गरे ।
पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गर्नुपर्ने विषयमा पनि उनले बोलेका छन् । ‘अहिलेको अन्तरिम सरकार कानुनबारे अत्यन्त सचेत छ’, उनले भने, ‘अहिलेसम्म कसैलाई पक्राउ गर्न आदेश दिएको छैन। छानबिन आयोगले निष्कर्ष निकालेर निर्णय दिनेछ ।’
आगामी फागुन २१ गतेको निर्वाचनका लागि नेपाल प्रहरी पूरा तयारी अवस्थामा रहेको पनि उनले खुलाए । ‘प्रहरीको मनोबल उच्च राख्न नीतिगत स्पष्टता र निर्णय चाहिएको छ’, उनले भने, ‘कानुनले दिएको र परिभाषित गरेको जिम्मेवारी पूरा गर्दा प्रहरीमाथि अनावश्यक छानबिन हुनु उचित होइन ।’
खबरहुबबाट साभार


प्रतिक्रिया