संखुवासभा । जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका-१, किमाथाङ्का नाकास्थित नेपाल-चीन सिमानामा रहेका सीमा स्तम्भहरूको निरीक्षण गरिएको छ।
प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाको नेतृत्वमा गएको जिल्ला सुरक्षा टोलीले सीमाक्षेत्रको स्थलगत अवलोकन गरेको हो । टोलीले तीन वटा सीमा स्तम्भको निरीक्षण गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनाली, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरूण गुल्मका प्रमुख प्रहरी नायव उपरीक्षक बाबुराम पौडेललगायतको टोलीले ६८, ६९ र ७० नम्बरका सीमा स्तम्भहरू निरीक्षण गरेको प्रमुख जिल्ला अधिकारी थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार संखुवासभा जिल्लामा हाल २१ वटा सीमा स्तम्भ रहेका छन्’।
निरीक्षणका क्रममा गत जेठ महिनामा आएको बाढीले भोटखोला-१ स्थित घोङ्गोप्पा र छोकाङ खोलामा रहेको ७१ र १ नम्बरको सीमा स्तम्भ बगाएर बेपत्ता बनाएको विषयमा पनि समीक्षा गरिएको थियो । सो स्तम्भ अहिलेसम्म फेला परेको छैन । भोटखोला गाउँपालिकाका वडा नं । १, २ र ३ सिधैं चीनको भू-भागसँग जोडिएका छन् ।
सुरक्षा टोलीले सीमा स्तम्भ निरीक्षणसँगै खाँदबारी(किमाथाङ्का सडकखण्डमा पर्ने मतदान स्थल, बोडर आउट पोस्ट (बिओपी)किमाथाङ्का र विभिन्न प्रहरी चौकीहरू पनि अवलोकन गरेको थियो । साथै, चीनतर्फका काउन्टर पार्टहरूसँग सीमा सुरक्षा, सीमापारी अपराध नियन्त्रण, विपद् व्यवस्थापन र सूचना आदान-प्रदानका विषयमा छलफल गरिएको प्रमुख जिल्ला अधिकारी थपलियाले बताउनुभयो ।
त्यस्तै टोलीले भन्सार कार्यालय किमाथाङ्काको नाममा रहेको जग्गाको नापजाँच र चारकिल्ला निर्धारण गरी सुरक्षित गरेको छ । साथै, किमाथाङ्का अरूण, माथिल्लो अरूण र अरूण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरी मुआब्जा, नागरिक सुनुवाइ, शान्ति सुरक्षा, सडक अवस्था र स्थानीय सरोकारका विषयमा समेत छलफल गरिएको थियो । कान्तिपुरबाट साभार


प्रतिक्रिया