खाँदबारी । यस बर्षकाे एसईईमा सामेल हुने खाँदबारी नगरपालिकाका विद्यार्थीहरुले निशुल्क तयारी कक्षा लिन पाउने भएका छन् । घुन्सा फाउण्डेशनकाे छात्रबृत्ति सहयाेगमा एम्बिसन गुरु मार्फत निशुल्क अनलाईन तयारी कक्षामा सहभागी हुन पाउने भएका छन् ।
घुन्सा फाउण्डेशनसँग खाँदबारी नगरपालिकाले परामर्श गरि नगरपालिका भित्रका विद्यार्थीहरुकाे लागि निशुल्क कक्षाकाे ब्यवस्था गरिएकाे खाँदबारी नगरपालिकाले जनाएकाे छ । घुन्सा फाउण्डेशनकाे छात्रबृत्ति सहयाेगमा एम्बिसन गुरु मार्फत गुणस्तरीय कक्षा सञ्चालन हुने खबर पाएपछि फाउण्डेशनका अध्यक्ष याङ्जाेम शेर्पासँग समन्वय गरि तयारी कक्षाकाे ब्यवस्था गरिएकाे खाँदबारी नगरप्रमुख महेश थपलियाले जानकारी दिनुभयाे ।
यस कक्षाबारे आज (बुधबार) बाट अन्तरकृया कार्यक्रम सुरु गरिएकाे छ । आज पहिलाे दिन एसईईकाे तयारी गरिरहेका विद्यार्थीहरुकाे उपस्थिमा मनकामना रत्नअम्बिका मावि तुम्लिङटार र खाँदबारी नगरपालिकाकाे सभाहलमा अन्तरकृया कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे । त्यस्तै भाेली विहिबार हिमालय मावि खाँदबारी, महेन्द्र मावि मानेभञ्ज्याङ र खाँदबारी नगरपालिकाकाे सभाहलमा विद्यार्थीहरुकाे नजिकका विद्यालयका विद्यार्थीहरुकाे उपस्थितिमा अन्तरकृया कार्यक्रम आयाेजना गरिने बताईएकाे छ । ताेकिएकाे उक्त कार्यक्रम केन्द्रमा पायक पर्ने माध्यमिक विद्यालयका विद्यार्थीहरु सहभागी हुने गरि खबर गरिएकाे नगरपालिका कार्यालयले जनाएकाे छ ।
विद्यार्थीहरुले बेलुका ६ बजेदेखि ९ बजेसम्म विभिन्न विषयका कक्षाहरु लिन पाउने फाउण्डेशनका अध्यक्ष याङ्जाेम शेर्पाले जानकारी दिनुभयाे । देशका अनुभवि तथा दक्ष शिक्षकहरुबाट मल्टिमिडियाकाे भरपुर प्रयाेग गरि अध्यापन गराईने उहाँले बताउनुभयाे । विद्यार्थीहरुकाे रिफ्रेसमेन्टका लागि कलाकार, सामाजिक ब्यक्तित्वहरु लगायतसँग साक्षत्कार गराउने तथा मनाेरञ्जन दिने समेत अध्यक्ष शेर्पाले बताउनुभयाे ।
घुन्सा फाउण्डेशनकाे छात्रबृत्ति सहयाेगमा गत बर्ष १ लाख ८१ हजार जना विद्यार्थीहरुले निशुल्क कक्षा लिएकाे अध्यक्ष शेर्पाले बताउनुभयाे । यस बर्ष करिव ३ लाख विद्यार्थीलाई निशुल्क कक्षा दिईने लक्ष्य रहेकाे उहाँले बताउनुभयाे ।


प्रतिक्रिया