सिलिचोङले गर्यो ४४ जनालाई स्वास्थ्य स्वयम् सेविकालाई सम्मान



खाँदबारी । राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका दिवसको अवसरमा सिलिचोङ गाउँपालिकाले ४४ जना स्वास्थ्य स्वयम् सेविकालाई सम्मान गरेको छ । शुक्रबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पालिका भरिका सवै स्वास्थ्य स्वयम् सेविकाहरुलाई सम्मान गरेको हो ।

महिला स्वास्थ्य स्वयम् सेविका ब्यवस्थापन समिति संयोजक गाउँपालिका उपाध्यक्ष देविता कुलुको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको थियो । गाउँपालिकाको चालु आर्थिक बर्षमा विनियोजित महिला स्वयम् सेविका दिवस तथा प्रोत्साहन कार्यक्रम अन्तर्गत सेविकाहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा सम्मानित सेविकाहरुलाई इलेक्ट्रिक ईमर्जेन्सी लाईट, तातोपानी राख्ने थर्मस दिई दोसल्ला ओढाएर सम्मान गरिएको छ । सामुदायिक स्वास्थ्यका लागि खटिने स्वास्थ्य स्वयम् सेविकाहरुको प्रोत्साहनको लागि यो कार्यक्रम राखिएको स्वास्थ्य संयोजक दिपेन्द्र कुलुङले जानकारी दिनुभयो ।

सिलिचोङ गाउँपालिकाको वडा नम्बर १ सिसुवाखोलामा ९ जना, वडा नम्बर २ बालामा ९ जना, वडा नम्बर ३ ताम्कुमा ११ जना, वडा नम्बर ४ ताम्कुमा १० जना र वडा नम्बर ५ याफुमा ५ जना स्वास्थ्य स्वयम् सेविकाहरु रहेको स्वास्थ्य संयोजक कुलुङले जानकारी दिनुभयो । मातृ तथा शिसु स्वास्थ्य सेवा, आमा समुहको नियमित बैठक, भिटामिन ए तथा जुकाको औषधि वितरण, विभिन्न खोप कार्यक्रममा सहजिकरण लगायत भईपरि आउने काममा स्वास्थ्य स्वयम् सेविकाहरु खटिने गरेको स्वास्थ्य संयोजक कुलुङले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रविण राई लगायतका कर्मचारीहरु, वडाअध्यक्ष लगायतको जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार