काठमाडौं । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ र द स्केटल्याण्ड स्केट पार्कले संयुक्त आयाेजनामा खुल्ला राष्ट्रिय ईनलाइन स्केट मिनी म्याराथुन प्रतियोगिता सम्पन्न भएकाे छ । शनिबार विभिन्न देशका स्केटरहरुको सहभागितामा भब्य रुपमा स्केट मिनी म्याराथुन प्रतियोगिता सम्पन्न भएकाे हाे ।
नेपालमै पहिलो पटक आयाेजना गरिएकाे यो स्केट म्याराथन काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका सुन्दरीजल, आलापोट चोकदेखि गोकर्णेश्वर नगरपालिकाको तालिन्चोकस्थित द स्केटल्याण्डको पार्कसम्म करिब ५ किलोमिटर दुरीमा प्रतिष्पर्धा गराईएकाे थियाे ।
प्रतियोगितामा नेपाल, भारत, दुवै, मलेसिया लगायतका देशहरुबाट झण्डै एक सय भन्दा बढी स्केटरहरु सहभागी भएका थिए । जसमध्ये पुरुषतर्फ नेपाली प्रतिष्पर्धी साम्देन गेल्बु शेर्पा प्रथम, अनिश गुरुङ द्वितीय र सफल थापा तृतीय भएका छन् । महिलातर्फ पनि नेपालबाटै निमीशा पाख्रीन प्रथम, मोनिका मगर द्वितीय र सिवानी रेग्मी तृतीय भएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले शिल्ड, मेडल र प्रमाणपत्र सहित क्रमस नगद ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ प्राप्त गरेका छन् । स्केट म्याराथन प्रतियोगितामा छिमेकी राष्ट्र भारतबाट फरक क्षमता भएका पाँच जना दृष्टिविहिन स्केटरहरुले समेत भाग लिएका छन् ।
प्रतियोगिता नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठको प्रमुख आतिथ्यता र गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसालको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । एतिहासिक रुपमा नेपालमा पहिलोपटक आयोजना गरिएको प्रतियोगिता संतोषजनक रहेको आयोजक तथा द स्केटल्याण्डका संचालक अब्राहम कुलुङ राईले बताएका छन् ।


प्रतिक्रिया