खाँदबारी । जिल्ला प्रशासन कार्यालय संखुवासभाको संयोजनमा खाँदबारी नगरपालिका –७ स्थित नयाँ बजारका केही पसलहरूमा सोमबार बजार अनुगमन गरिएको छ । बजार क्षेत्रमा बिक्री वितरण हुँदै आएका उपभोग्य वस्तुहरूको अवस्था बुझ्न तथा व्यवसायीहरूलाई सचेत गराउने उद्देश्यले अनुगमन गरिएको हो ।
अनुगमन कार्यक्रममा जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्ला प्रहरी कार्यालय, खाँदबारी नगरपालिका, उद्योग वाणिज्य संघ तथा नेपाल पत्रकार महासंघको सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा अधिकांश पसलहरू दर्ता तथा नवीकरण गरिएको र मूल्यसूची समेत स्पष्ट रूपमा राखिएको पाइएको छ । यसप्रति सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले व्यवसायीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।
तर केही पसलमा खाद्य सामग्रीसँगै विषादीजन्य सामग्रीहरू राखिएको पाइएकाले त्यस्ता सामग्रीहरू खाद्य वस्तुसँगै नराख्न सम्बन्धित व्यवसायीहरूलाई सुझाव दिइएको छ । उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आगामी दिनमा यस्ता विषयमा थप सतर्कता अपनाउन आग्रह गरिएको छ ।


प्रतिक्रिया